
विराटनगर, २५ श्रावण । नेपाली क्रिकेट जगत आइतबार शोकमा डुबेको छ । राष्ट्रिय क्रिकेट टोलीका प्रतिभाशाली स्पिनर ललितनारायण राजवंशीले आफ्नी ममतामयी आमालाई सदाका लागि गुमाएका छन् । राजवंशीकी ६० वर्षीया आमा शुभकुमारी शुभो राजवंशीको आइतबार बिहान विराटनगर( ४, जतुवास्थित आफ्नै निवासमा दुःखद निधन भएको हो । मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार, स्वर्गीय शुभकुमारी लामो समयदेखि दम र फोक्सोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । शनिबार राति नियमित औषधि सेवन गरेर सुत्नुभएकी उहाँलाई आइतबार बिहान छोरी सुमनले उठाउन जाँदा अचेत अवस्थामा फेला पारेकी थिइन् । छिमेकीले दिएको जानकारीअनुसार, तत्काल हेर्दा उहाँको निधन भइसकेको पाइएको थियो । आमाको निधनको खबर पाएसँगै ललित काठमाडौंबाट आफ्नो घर विराटनगर आइपुगिसकेका छन् । परिवारका अनुसार, स्वर्गीय शुभकुमारीको अन्तिम संस्कार आजै घर नजिकैको सिंघिया खोलामा हिन्दु परम्पराअनुसार गरिएको छ । स्वर्गीय शुभकुमारी राजवंशीका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर, माइलो छोरा रामकिशोर, कान्छो छोरा ललित र छोरी सुमन हुनुहुन्छ ।
