search logo
NOTIFICATIONS

लिफ्ट प्रकरणमा मेयर बालेनः खरिद ऐन मिचेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी

हाम्रो पेज

२९ जेष्ठ २०८२, बिहीबार १४:४७
काठमाडौं, २९ जेठ I काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध खरिद प्रक्रिया मिचेर अपारदर्शी ढंगले लिफ्ट जडान गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

युवराज सफलले मेयर शाहले सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन गरी अनियमितता गरेको दाबीसहित छानबिनको माग गर्नुभएको छ। यो उजुरी यस्तो समयमा परेको छ, जतिबेला अख्तियारले महानगरका अन्य उच्च अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइरहेको छ।

सफलले दायर गरेको उजुरीमा मेयर शाहले व्यक्तिगत सुविधाका लागि लिफ्ट जडान गरेको र सो प्रक्रियामा गम्भीर कानुनी उल्लंघन भएको आरोप लगाइएको छ। उजुरीमा भनिएको छ, “लिफ्ट जडानप्रति हाम्रो विरोध होइन, तर सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा, बिना टेन्डर र बिना कोटेसन जसरी अपारदर्शी र अनियमित तरिकाले काम भयो, त्यसमा हाम्रो गम्भीर आपत्ति हो।”
उजुरीमा थप दाबी गरिएको छ, “विशेषगरी सो लिफ्ट मेयर बालेन्द्र साहकै लागि जडान गरिएको भनेर महानगरपालिकाकै स्रोतले जनाएको छ।” उजुरीकर्ता सफलले लिफ्ट जडानसम्बन्धी सम्पूर्ण कागजातहरू झिकाएर सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न अख्तियारसँग माग गर्नुभएको छ । गत महिना महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नै मेयर शाहको कार्यालयमा ‘कोटेसन’का भरमा लिफ्ट जडान गरिएको खुलासा गर्नुभएको थियो । यो प्रकरणले यतिबेला थप महत्त्व पाएको छ, किनकि अख्तियारले महानगरपालिकाभित्रका अनियमिततामाथि निगरानी बढाएको छ। बुधबार मात्रै अख्तियारले महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ३१ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।