हाम्रो पेज
विराटनगर, २८ जेठ I देशका विभिन्न भूभागमा मनसुन, पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावले मौसम बदली भई वर्षाको सम्भावना बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशमा मनसुनी वायु सक्रिय हुँदा देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभर र राति देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। महाशाखाले बुधबार बिहानै विशेष चेतावनी जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा विकसित भएको वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २४ जिल्लामा बाढीको जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गरेको छ। महाशाखाले दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोट गरी सात जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
यसका साथै इलाम, तेह्रथुम, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, उदयपुर, संखुवासभा, खोटाङ, रामेछाप, कास्की, लमजुङ, अछाम, बझाङ र दार्चुलाका नदी तथा खोलाहरूमा पनि पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाइएको छ।