हाम्रो पेज
सनसरी, ८ आश्विन । सुनसरीको कोशी गाउँपालिका– ४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा माइक्रोबसचालक सप्तरीको कञ्चनरूप नगरपालिका– ११ का ३२ वर्षीय आर्यन पोखरेलसहित १२ जना घाइते भएका छन्। घाइते हुनेमा कञ्चनरूप नगरपालिका– ११ का ७० वर्षीय दनसलाल चौधरी, वडा नम्बर १ का ४३ वर्षीय गोविन्द गुप्ता, वडा नम्बर १२ का ५१ वर्षीय बलराम पौडेल, वडा नम्बर ११ की २१ वर्षीया माया भुजेल, सोही ठाउँका ६० वर्षीय असरफी खङ र ३० वर्षीया सुनिता खङ रहेका छन्।
त्यस्तै, कञ्चनरूप नगरपालिका– ६ की ३० वर्षीया पूजा चौधरी, फत्तेपुर नगरपालिका– १ की ३६ वर्षीया उर्मिला भुजेल, सोही ठाउँकी २१ वर्षीया उशा भुजेल, कञ्चनरूप नगरपालिका– १ की ४७ वर्षीया राधा नेपाल र वडा नम्बर ६ का ४० वर्षीय देवाकान्त चौधरी पनि घाइते भएका छन्। घाइते सबैको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बलराम पौडेल उपचारपछि बिहान ९ः३० बजे डिस्चार्ज भएका छन्। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।