हाम्रो पेज

काठमाडौं, ३१ भाद्र । सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ । कानुन मन्त्रालयसँगको परामर्शमा स्वास्थ्य मन्त्रालयले तयार पारेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा प्रसूति बिदा र प्रसूति स्याहार बिदाको अवधि बढाउने प्रस्ताव गरिएको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमकाअनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन भएको उनको भनाइ छ । बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन, उहाँले भन्नु भएको छ । नयाँ कानुनबाट अभिभावकले बच्चालाई पर्याप्त समय दिन पाउने मन्त्री गौतमको भनाइ छ । आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेका छन्। जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो। यही सोचसहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको छ र अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारीमा छौँ, उहाँले भन्नु भएको छ ।