इटहरीमा डिभाइडरमा मोटरसाइकल ठोक्किंदा ईनरुवाका दुई युवाको मृत्यु

हाम्रो पेज

२८ भाद्र २०८३, आईतवार ११:३६

विराटनगर, २८ भदौ । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवाको मृत्यु भएको छ I मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा नगरपालिका वार्ड नं. ३ का २९ वर्षीय पारस थापा र पछाडि सवार सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको प्रहरीले जनाएको छ I

आइतबार बिहान करिब ३ बजे ईटहरीबाट ईनरुवातर्फ गइरहेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ। घटनापछि दुवैलाई तत्काल उद्धार गरी उपचारकालागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। तर, उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो । रातिको समयमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

घटनापछि आफन्तजन, स्थानीयवासी तथा पुरा टोल शोकमा छ। मृतक दुवै इनरुवा क्षेत्रका परिचित र सहयोगी युवा रहेको र उनीहरुको निधनले सिंगो इनरुवा स्तब्ध बनेको इनरुवा नगरपालिका वडा नं. ३ की महिला सदस्य सविना सिग्देलले बताउनुभयो ।

मृतक रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको खुलेको छ। अर्का मृतक थापा पनि केही समयअघिसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत रहेकाे र लोकसेवा परीक्षा तयारीमा रहेका कारण राजीनामा दिएको बुझिएको छ I थापा अविवाहित हुन् भने रेग्मीको श्रीमती र दुई छोरी छन् I