हाम्रो पेज
विराटनगर, २६ भदौ । कोशी प्रदेशका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास तथा उनीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ।
विराटनगर किङ्सको ग्रासरुट्स डेभलपमेन्ट कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको प्रतियोगिताको दोस्रो संस्करण आगामी असोज १ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १७–२१, २०२६) आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा कोशी प्रदेश क्रिकेट संघअन्तर्गत रहेका पाँच जिल्लाका युवा खेलाडीहरूको सहभागिता रहनेछ। टी–२० फर्म्याटमा सञ्चालन हुने प्रतियोगिताले विभिन्न जिल्लामा रहेका प्रतिभावान खेलाडीलाई एउटै मञ्चमा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
आयोजकका अनुसार ‘ड्रिम टु प्ले २०२६’ केवल क्रिकेट प्रतियोगिता मात्र नभई युवा खेलाडीको प्रतिभा पहिचान, क्षमता अभिवृद्धि र उज्ज्वल भविष्य निर्माण गर्ने अभियानका रूपमा अघि बढाइएको कार्यक्रम हो। यसले प्रदेशस्तरको आधारभूत क्रिकेट संरचना मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको विशेष आकर्षणका रूपमा विराटनगर किङ्सको आइकोनिक प्लेयर छनोट रहनेछ। प्रतियोगिताभर खेलाडीको प्रदर्शन, क्रिकेटिङ सीप, अनुशासन, क्षमता तथा सम्भावनाको मूल्याङ्कन गरी उत्कृष्ट प्रतिभामध्येबाट एक खेलाडीलाई विराटनगर किङ्सको आइकोनिक प्लेयरका रूपमा छनोट गरिने जनाइएको छ।
यस पहलले युवा खेलाडीलाई व्यावसायिक क्रिकेटतर्फ अघि बढ्न थप प्रेरणा र अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।
कोशी प्रदेशका पाँच जिल्लाबाट सहभागी हुने युवा खेलाडीहरूको प्रतिभा, प्रतिस्पर्धात्मक भावना र क्रिकेटप्रतिको समर्पणले प्रतियोगितालाई थप रोमाञ्चक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।