हाम्रो पेज

काठमाडौँ, भदौ २१ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ र अन्य पाँच जना रहेका प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ । बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी, मृतक एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ । बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताउनुभयो । भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।
भोटेकोशी बाढीपछि उद्धारमै सात अर्बभन्दा बढी लाग्ने
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको तत्कालीन मानवीय सहायताकै लागि नेपालले करिब सात अर्ब ५० करोड रुपियाँ खर्च गर्नुपर्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संस्था ओसिएचएले रसुवा, नुवाकोट, धादिङ, गोरखासहित बाढी प्रभावित छ जिल्लामा तत्काल मानवीय सहायताका लागि चार करोड ९६ लाख अमेरिकी डलर आवश्यक पर्ने देखाएको हो । ओसिएचले एक प्रतिवेदन सार्वजनिक गर्दै यसका लागि राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई समेत सहयोगका लागि अपिल गरेको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट ८४ हजार २७० जना प्रभावित भएको अनुमान गर्दै यो परिमाणको सहायता आवश्यक रहेको औँल्याइएको हो । राष्ट्रसङ्घले सत्र स्थानीय तहका १९ हजार २८४ घरपरिवार बाढी प्रभावित रहेको र उनीहरूका लागि चार महिनाको आपत्कालीन राहत व्यवस्थापन गर्न सो रकम आवश्यक पर्ने अनुमान गरेको हो । विनाशकारी बाढीबाट घर, सडक, बजार, जलविद्युत् आयोजना, खानेपानी तथा सञ्चार संरचनामा ठुलो क्षति पुगेको छ तर यो प्रतिवेदनले यी पक्षको पुनर्निर्माणको खर्च समेटेको छैन । “भौतिक संरचनामा भएको क्षति र त्यसको पुनर्निर्माणका लागि विस्तृत अध्ययन जरुरी छ,” प्रतिवेदनमा भनिएको छ, “बाढी प्रभावितको जीवनरक्षाका लागि नेपाललाई यस्तो मानवीय सहायता चाहिएको हो ।”अध्ययन अनुसार ठुलो रकम स्वास्थ्य, अस्थायी आवास व्यवस्था, स्वस्थ पानी, पोषण तथा सुरक्षामा खर्च गर्नुपर्ने देखिएको छ । भोटेकोशी बाढीका कारण कृषिक्षेत्रमा परेको असरको पनि प्रारम्भिक आकलन सो प्रतिवेदनमा गरिएको छ । प्रारम्भिक ‘रिमोट सेन्सिङ’ विधि अनुसार गरिएको विश्लेषणमा करिब एक हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगर बनेको छ । त्यसमध्ये धान खेती हुने एक हजार ६६९ हेक्टर र तरकारी खेती हुने १३७ हेक्टर रहेको छ । यसको असरले कृषि उत्पादनमा करिब सात हजार ६८६ मेट्रिक टन क्षति भएको प्रारम्भिक अनुमान छ ।
त्यस्तै चार हजार ७५० भन्दा बढी पशु, ५४ हजार कुखुरा मरेका छन् भने करिब एक सय माछापोखरीमा क्षति पुगेको छ । बाढीका कारण ४२ किलोमिटर वेत्रावती–रसुवागढी सडकखण्डमा क्षति पुगेको छ । साथै बाढीपछि करिब २२ लाख मेट्रिक टन गेग्य्रान थुप्रिएको प्रारम्भिक अनुमान छ । खानेपानीका ५० वटा प्रणाली आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब १० हजार परिवारलाई सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग आवश्यक पर्ने अनुमान छ ।