हाम्रो पेज
विराटनगर, २२ श्रावण । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको पुनःनिर्माण तथा मर्मत–सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट अस्वीकार गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमार्फत उनले उक्त रकम फिर्ता लैजान आग्रह गर्नुभएको हो । गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा विराटनगरस्थित ऐतिहासिक कोइराला निवास आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। आर्थिक वर्ष २०८३, ८४ को बजेटमार्फत सरकारले उक्त निवासको मर्मत–सम्भारका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, डा। कोइरालाले वर्तमान परिस्थितिमा राज्यको सीमित स्रोत–साधन जनताको आधारभूत आवश्यकता पूरा गर्न केन्द्रित हुनुपर्ने विश्वास व्यक्त गर्दै आफू नैतिक रूपमा उक्त रकम स्वीकार गर्न असमर्थ रहेको स्पष्ट पार्नुभएको छ । मन्त्रालयलाई लेखेको पत्रमा उहाँले विराटनगर महानगरपालिका–७ स्थित पितृपुरुष कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको उक्त घर केवल एउटा निजी निवास नभई नेपालको लोकतान्त्रिक आन्दोलन, शैक्षिक जागरण र राजनीतिक चेतनाको ऐतिहासिक धरोहर भएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार कृष्णप्रसाद कोइरालाले सुरु गरेको शैक्षिक जागरणको अभियान पछि बिपी कोइरालाको नेतृत्वमा समग्र परिवारको समर्पण र योगदानसँगै आम नेपालीको राजनीतिक, बौद्धिक तथा लोकतान्त्रिक चेतनाको आन्दोलनमा रूपान्तरण भएको थियो।
डा. कोइरालाले कोइराला निवासले केवल इतिहासको साक्षीका रूपमा मात्र नभई नेपाली जनताको भरोसा, विश्वास र लोकतान्त्रिक मूल्य–मान्यताको केन्द्रका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। उहाँले विचार, संगठन, स्वतन्त्रता र राष्ट्रियताको त्यो चेतना आज मेचीदेखि महाकालीसम्म फैलिएको भन्दै त्यसको वास्तविक संरक्षण जनताको जीवनस्तर उकास्ने राज्यको दायित्व पूरा गर्नु नै भएको बताउनु भएको छ। पत्रको अन्त्यमा उनले बिपी कोइरालाले जीवनभर गाँस, बास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै राज्यले आफ्ना स्रोत–साधन आम नागरिकको उत्थानमा केन्द्रित गर्नु नै बिपीप्रति सच्चा श्रद्धाञ्जली र कोइराला निवासप्रतिको वास्तविक सम्मान हुने उल्लेख गर्नुभएको छ ।
डा. कोइरालाले मन्त्रालयलाई लेखेको पत्रमा भन्नु भएको छ ।

विराटनगर महानगरपालिका वार्ड नं. ७ स्थित पिताजी कृष्णप्रसाद कोइरालाद्वारा शताब्दी पहिले निर्मित घर, जो कोइराला निवास भनी चिनिन्थ्यो । गतवर्ष भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा जलाइयो । यसको एैतिहासिकता भौतिकरुपमा नष्ट गर्ने काम भयो । पिताजी कृष्णप्रसाद कोइरालाद्वारा शैक्षिक जागरण मार्फत समाज रुपान्तरणको अभियान शताब्दी पहिले शुरु गरेको कार्यलाई बिपी कोइरालाको नेतृत्वमा समस्त परिवारको साथ, समर्पण र सहयोग पाएर आम नेपालीको राजनैतिक, वौद्धिक र सामूहिक चेतनाको संघर्षमा त्यो परिणत भयो । कोइराला निवास यसको साक्षी र धरोहर मात्र थिएन, आम नेपाली जनताको भरोसा र विश्वासको केन्द्र पनि थियो । नेपाली जनताको सामूहिक चेतनाको त्यो धरोहर विचारको, संगठनको, स्वतन्त्रताको र राष्ट्रियताको रुपमा आज मेची महाकाली देशभरी फैलिएको छ । बिपी सम्पूर्ण नेपालीको गाँस, बास र कपासको लागि जीवनभर संघर्षरत रहनुभयो, राज्यले त्यस तर्फ समग्र रुपमा आफूलाई समर्पित गरोस्, यही नै बिपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ, यही नै कोइराला निवास प्रति न्याय गरेको ठहरिनेछ ।