१४ जिल्लामा ‘घरदैलोमै राहदानी वितरण सेवा’

हाम्रो पेज

१५ बैशाख २०८३, मंगलवार १९:१४
घरमै पासपोर्ट र लाइसेन्स पुर्‍याउन सुरु, ३११ वटा राहदानी घरमै पुर्याइयो

काठमाडौँ, वैशाख १५ गते । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागका अनुसार अहिलेसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ । विभागले गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडी लगायतका जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरेको छ । अन्य जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको ठेगाना सङ्कलन गरिरहेका छन् । सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरणतर्फ पनि उल्लेखनीय प्रगति भएको विभागले जनाएको छ । २०८३ वैशाख १५ गतेसम्म हुलाकमार्फत दुई लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ । मोरङ र कास्कीमा भने यातायात कार्यालयसँगको समन्वयमा लाइसेन्स सिधै घरमै पुर्‍याउन थालिएको छ । हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको १०० दिने कार्यसूची अनुसार अन्य सेवा पनि थपिएका छन् । विभागले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग नमुना ढुवानी र नेपाल टेलिकमसँग सिमकार्ड घरमै पुर्‍याउने विषयमा प्राविधिक तयारी गरिरहेको छ । यसै गरी त्रिभुवन विश्वविद्यालयसँग प्रमाणपत्र ढुवानीका लागि छलफल भइरहेको छ भने मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका र प्रमाणपत्र ढुवानीको काम सुरु भइसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। बिक्रम तिमिल्सिनाले हुलाकको सेवालाई प्रभावकारी बनाउन र निकायबिच सहकार्य गर्न निर्देशन दिनुभएको छ । बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि चैत १३ गतेको पहिलो मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची स्वीकृत गर्‍यो । भोलिपल्ट सार्वजनिक भएको उक्त कार्यसूचीको बुँदा नम्बर २७ मा भनिएको छ, ‘सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनीकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरूर सामग्रीहरू घरमै पुर्‍याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने ।’