
काठमाडौं, ७ वैशाख । निजामती कर्मचारीको कार्यशैलीमा व्यापक फेरबदल गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने भएको छ। अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको मन्त्रीस्तरीय निर्णयबाट यो व्यवस्था लागू गर्ने काम अघि बढेको हो। वैशाख ४ गते अर्थ मन्त्रालयले निर्णय कार्यान्वयनको प्रक्रियाका लागि महालेखा नियन्त्रक कार्यालय मलेनिकालाई पत्राचार गरिसकेको छ। चलानी ४७३७ रहेको पत्रअनुसार राष्ट्रसेवकको तलब अर्धमासिक गर्नका लागि आवश्यक व्यवस्था मिलाउन भनिएको छ। ‘राष्ट्रसेवक कर्मचारीको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तानभएपछि मासिक रुपमा गर्दै आएकोमा अब यसलाई अर्धमासिक रुपमा भुक्तान गर्न सुरु गरिँदैछ’, अर्थ मन्त्रालयका सहसचिव डा।सुमन दाहालको हस्ताक्षर रहेको पत्रमा भनिएको छ। अर्धमासिक रुपमा तलब वितरण गर्न आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले मलेनिकालाई भनेको छ। यो प्रणालीले राज्यकोष व्यवस्थापनमा पनि सहयोग पुऱ्याउने मन्त्रालयका अधिकारीको भनाइ छ। सामान्यतया महिनाको अन्त्यमा एकै पटक अर्बौं रूपैयाँ तलबका रूपमा भुक्तानी गर्दा राज्यकोषमा एक्कासि चाप पर्ने गर्थ्यो। अब १५,१५ दिनमा भुक्तानी गर्दा त्यो भार दुई भागमा बाँडिनेछ, जसले सरकारी नगद प्रवाहलाई सन्तुलित राख्न मद्दत गर्ने अर्थका अधिकारीको भनाइ छ। यो परिवर्तनले सरकारलाई कुनै अतिरिक्त आर्थिक भार वा ब्याजको दायित्व पनि थप्दैन। कर्मचारीले आफ्नो हकको पैसा दुई किस्ता गरी थोरै छिटो प्राप्त गर्ने मात्र हुन्, अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, यसले सरकारको वित्तीय दायित्वमा वृद्धि हुँदैन तर अर्थतन्त्रको गति बढ्नेछ। यो निर्णय कर्मचारीहरूका लागि पनि राहतकारी देखिने उनीहरूको भनाइ छ।