search logo
NOTIFICATIONS

आज हरितालिका तीज, देशभरका शिवालयहरुमा भिड

हाम्रो पेज

१० भाद्र २०८२, मंगलवार १२:२५

विराटनगर, १० भाद्र । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन नेपाली हिन्दु नारीहरूद्वारा अत्यन्तै उल्लास र श्रद्धाका साथ मनाइने हरितालिका तीज आस्था, संस्कृति र महिलाहरूको विशेष पहिचान बोकेको एक महत्त्वपूर्ण पर्व हो। यो दिन महिलाहरू निराहार व्रत बसी भगवान् शिवको पूजा आराधना गर्दै आफ्नो सौभाग्य र परिवारको कल्याणको कामना गर्दछन्। यस अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु महिलाहरूको घुइँचो लागेको छ । दर्शनार्थीहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि नै खुला राखिएको थियो । हरितालिका तीजको कथा सत्ययुगमा हिमालयपुत्री पार्वतीको अविचलित प्रेम र तपस्यासँग जोडिएको छ। पौराणिक कथनअनुसार, पार्वतीले भगवान् शिवलाई पति रूपमा पाउन १०८ वर्षसम्म कठोर तपस्या गगर्नुभएको थियो । उहाँका पिता हिमालयले भने उहाँको विवाह भगवान् विष्णुसँग गरिदिने निश्चय गर्नुभएको थियो। पिताको इच्छाविपरीत, पार्वतीले आफ्ना सखीहरूलाई आफ्नो मनोव्यथा सुनाउनुभयो। त्यसपछि सखीहरूले उहाँलाई हरण गरेर एक निर्जन स्थानमा लगे, जहाँ उहाँले भाद्र शुक्ल तृतीयाका दिन निराहार र निर्जला व्रत बसेर शिवजीको आराधना गर्नुभयो। उहाँको यही कठोर तपस्याबाट प्रसन्न भई भगवान् शिव प्रकट भएर उहाँलाई पत्नीको रूपमा स्वीकार गर्नुभयो । हरितालिका शब्दको अर्थ पनि यही कथामा निहित छ। हरितको अर्थहरण गरिएको र आलिका को अर्थ सखीहरूद्वारा हुन्छ। यसरी सखीहरूद्वारा हरण गरिएकी पार्वतीले व्रत बसेको दिन हुनाले यस पर्वको नाम हरितालिका तीज रहन गएको हो।

 

यही विश्वासका आधारमा आज पनि विवाहित महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाहरू सुयोग्य वर पाउने अभिलाषाका साथ व्रत बस्ने गर्दछन्। तीजको सांस्कृतिक प्रक्रिया दर खाने दिनबाट सुरु हुन्छ। द्वितीयाका दिन माइतीघरमा भेला भएका दिदीबहिनीहरूले मध्यरातसम्म खीर, घिउ, दूध र अन्य मिष्ठान्न भोजन ग्रहण गर्छन्, जसलाई दर भनिन्छ। तृतीयाको दिन, बिहानै नुहाइधुवाई गरी शुद्ध भई महिलाहरू दिनभर पानीसमेत नपिई निराहार व्रत बस्छन्। उनीहरू विशेषतः रातो, हरियो र पहेँलो रङ्गका पहिरन, चुरा, पोते र गरगहनामा सजिएर मन्दिर जान्छन्। यस पर्वको अर्को सुन्दर पक्ष भनेको गीत संगीत र नाचगान हो। महिलाहरू समूहमा भेला भएर तीजका गीत गाउँदै वर्षभरि मनमा गुम्सिएका सुखदुःख, वेदना र पीडाहरूलाई लयबद्ध रूपमा पोख्छन्, जसले यस पर्वलाई नारी स्वतन्त्रता र अभिव्यक्तिको प्रतीक पनि बनाएको छ। समयको प्रवाहसँगै तीज मनाउने शैलीमा पनि उल्लेखनीय परिवर्तन आएको छ। पहिले माइतीघरको आँगनमा सीमित यो पर्व अब सहरका पार्टी प्यालेस र रेस्टुरेन्टहरूमा महिनौँ अघिदेखि दर खाने कार्यक्रमका नाममा मनाउन थालिएको छ। यसले गर्दा तीज भड्किलो, खर्चिलो र देखासिकीको पर्व बन्दै गएको गुनासो बढ्न थालेको छ। तीजको मौलिकतामा पश्चिमेली संस्कृतिको प्रभाव देखिन थालेको छ, जसले गर्दा यसको सांस्कृतिक र आध्यात्मिक महत्त्व केही हदसम्म ओझेलमा परेको छ। यसका साथै, स्वास्थ्य र विज्ञानको दृष्टिकोणबाट पनि तीजको कठोर व्रतमाथि बहस हुने गरेको छ। पोषणविद्हरूले दिनभर पानीसमेत नपिई बस्ने निर्जला व्रत स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भन्दै फलफूल र तरल पदार्थ सेवन गरेर व्रत बस्न सुझाव दिन्छन्। महिलाले व्रत बस्दैमा पतिको आयु बढ्ने कुराको कुनै वैज्ञानिक आधार नभए पनि यो पर्वले दाम्पत्य जीवनमा प्रेम, सम्मान र समर्पणको भावनालाई भने अवश्य प्रगाढ बनाउँछ। हरितालिका तीज केवल एक धार्मिक पर्व मात्र नभएर नेपाली महिलाहरूको सांस्कृतिक पहिचान, आपसी सम्बन्ध र उन्मुक्त अभिव्यक्तिको पर्व हो। यसको पौराणिक र सांस्कृतिक महत्त्वलाई जीवन्त राख्दै बदलिँदो समयसँगै देखिएका विकृतिहरूलाई हटाएर यसको मौलिक सौन्दर्य जोगाउनु आजको आवश्यकता हो। आस्था र परम्परालाई कायम राख्दै स्वास्थ्य र समयसापेक्ष परिमार्जनसहित यो पर्व मनाउन सके यसको महत्त्व अझै बढ्नेछ।