NOTIFICATIONS
हाम्रो पेज
विराटनगर , ८ श्रावण । झापा र सुनसरीमा भएका छुट्टाछुट्टै करेन्ट दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् सुनसरीको इनरुवा नगरपालिका ३ मा निर्माणाधीन घरमा छत ढलानको तयारी गर्ने क्रममा फलामको रड मिलाउँदा अकस्मात् बिजुलीको नाङ्गो तारमा छोइन पुगेको थियो। करेन्ट लागेर बर्जु गाउँपालिका ६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका ३ का ३२ वर्षीय श्रवण चौधरी गम्भीर घाइते भएका थिए। उपचारका लागि इनरुवा अस्पताल लगिएकामध्ये नन्द कुमारको उपचारकै क्रममा मृत्यु भयो। श्रवणलाई भने थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यस्तै, झापामा पनि करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गौरादह नगरपालिका ७ की ७७ वर्षीया तेज कुमारी उप्रेतीको आफ्नै गाईगोठमा ज्यान गएको हो। मंगलबार साँझ कुटी काटिरहेको बेला विद्युत् सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। दुवै घटनाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।