अब विमानस्थलमा सुनिनेछ ह्याव अ नाइस जर्नीः अध्यागमनले जारी गर्‍यो नैतिक संहिता

हाम्रो पेज

२७ असार २०८२, शुक्रबार १६:३४

काठमाडौं, २७ अषाढ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्ष अब पहिले जस्तो रहने छैन। देशको पहिलो अनुहार मानिने अध्यागमनका कर्मचारीहरूले अबदेखि हरेक यात्रुलाई सम्मान र मुस्कानसहित स्वागत तथा बिदाइ गर्नेछन्। अध्यागमन कार्यालयले शुक्रबारदेखि लागू हुने गरी जारी गरेको नयाँ ‘नैतिक संहिता’ ले कर्मचारीको व्यवहारलाई थप यात्रुमैत्री, शिष्ट र आत्मीय बनाउने लक्ष्य राखेको छ। नयाँ नैतिक संहिताअनुसार, अबदेखि विदेशबाट नेपाल भित्रिने हरेक यात्रुलाई अध्यागमन कर्मचारीले वेलकम टु नेपाल, ह्याव अ नाइस डे नेपालमा स्वागत छ, तपाईंको दिन शुभ रहोस् भनेर स्वागत गर्नेछन्। त्यसैगरी, नेपालबाट विदेश प्रस्थान गर्नेहरूलाई ह्याव अ नाइस जर्नी तपाईंको यात्रा सुखद रहोस् भनेर बिदाइ गर्नुपर्नेछ। यो संहिताले केवल औपचारिक शब्दमा मात्र जोड दिएको छैन, बोलीचाली र हाउभाउमा समेत आत्मीयता झल्काउनुपर्ने कुरालाई अनिवार्य गरेको छ। विशेषगरी खाडी मुलुकलगायतका देशमा श्रम गर्न जाने नेपाली नागरिकप्रति हुने रुखो व्यवहारको गुनासोलाई सम्बोधन गर्दै नैतिक संहिताले उनीहरूप्रति सम्मानजनक शब्द प्रयोग गर्न र बोलीमा मिठास ल्याउन निर्देशन दिएको छ। अनावश्यक र धेरै प्रश्न सोध्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै थोरै र अत्यावश्यक प्रश्न मात्र सोध्न भनिएको छ। यो नैतिक संहिताको कार्यान्वयन केवल कागजमा मात्र सीमित नरहोस् भनेर यात्रुहरूले तत्काल आफ्नो अनुभव व्यक्त गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ। कार्यालयका १५ वटै डेस्कमा ‘एक्जिट सर्भे’ मेसिन राखिएको छ, जहाँ यात्रुले आफूले पाएको सेवाप्रति सन्तुष्ट वा असन्तुष्ट रहेको तत्कालै जनाउन सक्नेछन्। अध्यागमन कार्यालयले यो कदमले सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र नतिजामूलक बनाउने विश्वास लिएको छ। यो सानो तर महत्वपूर्ण परिवर्तनले नेपाल भ्रमणमा आउने पर्यटक र विदेशिने नेपालीको यात्रा अनुभवलाई अझै सुखद बनाउने अपेक्षा गरिएको छ।