search logo
NOTIFICATIONS

उद्योग वाणिज्य महासङ्घ कोशीमा राजेन्द्र राउतको प्यानलै बिजयी, काम गरेर देखाउने राउतको प्रतिवद्धता

हाम्रो पेज

२३ चैत्र २०८२, सोमबार ११:५३

विराटनगर, २३ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनु भएको छ । उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनु भएकोहो । आइतबार राति विराटनगरमा सम्पन्न महासङ्घको आठौँ प्रदेशसभाबाट राउत नेतृत्वको प्यानल नै विजयी भएको छ । अध्यक्षका प्रतिस्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गर्नुभएको छ । राउतले १४२ मत प्राप्त गर्दा रिजाल ५८ मतमा सीमित हुनुभयो । तीन वर्षअघि झापामा भएको निर्वाचनमा भने राउत निर्विरोध अध्यक्ष बन्नु भएको थियो । मतपरिणामअनुसार वस्तुगततर्फ राउतले ११ मत पाउँदा रिजालले ६ मत प्राप्त गर्नुभयो । जिल्ला–नगरतर्फ राउतले २४ मत ल्याउँदा रिजालले १३ मत ,यस्तै एसोसिएटतर्फ राउतले १०७ मत प्राप्त गर्दा रिजाल ३९ मतमा सीमित हुनुभयो । शिवम् अर्गनाइजेसनका अध्यक्षसमेत रहनु भएका राउत महासङ्घ कोशीका संस्थापक सदस्य हुनुहुन्छ । उहाँको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माणको काम अघि बढिरहेको छ । प्रतिस्पर्धी रिजाल भने महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । महासङ्घ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिमा अध्यक्षबाहेक चार पदाधिकारी भने निर्विरोध चयन भएका थिए । जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित हुनु भएको छ । यी सबै पदाधिकारी राउत समूहका हुन् । एसोसिएट्स सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । जिल्ला–नगरतर्फ सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुङ्गाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी र वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे निर्वाचित हुनु भएकोछ । महासङ्घ कोशीमा जिल्ला–नगर उद्योग वाणिज्य सङ्घबाट ३८, वस्तुगत सङ्घसंस्थाबाट १९ र एसोसिएट्सबाट १४८ गरी कुल २०५ जनाले नेतृत्व चयनका लागि मतदान गरेका थिए ।

दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएपछि राउतले आफ्नो चुनावी बाचालाई कामबाटै प्रमाणित गर्ने अठोट व्यक्त गर्नुभएको छ । विजय मन्तव्य दिँदै राउतले अबको समय गफ गर्ने नभई नतिजा निकाल्ने भएको बताउनुभयो । राउतले भन्नुभयो, ‘मैले हरेक जिल्लामा जाँदा एउटै कुरा बोल्ने गरेको थिएँ— म अहिले केही बोल्दिन, जुन दिन म विजयी भएर आउँछु, त्यो दिन गरेर देखाउँछु । आज त्यो दिन आएको छ, मैले यहाँहरूको सामु जे बाचा गरेको छु, त्यो पूरा गरेरै देखाउनेछु ।’ चुनावी अभियानका क्रममा आफूलाई साथ दिने सम्पूर्ण मतदाता, शुभचिन्तक र उद्योगी९व्यवसायीहरूलाई धन्यवाद दिँदै उहाँले आफ्नो जितलाई सबैको साझा जितको रूपमा व्याख्या गर्नुभयो । दोस्रो कार्यकालका लागि चुनिएका राउतले आगामी दिनमा कोशी प्रदेशको आर्थिक र औद्योगिक विकासका लागि अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।