
काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो। ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले आइतबार जिल्ला अदालतमा निवेदन दिएको थियो। सरकारी वकिलले हिरासतमै राख्नुपर्ने माग गरेको थियो भने ओली र लेखकको पक्षमा बहस गरेका कानुन व्यवसायीले हिरासत मुक्त गर्नुपर्ने जिकिर गरेका थिए। पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो। पूर्वप्रधानमन्त्री ओली त्रिवि अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए । जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो। यसैबीच सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ । एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पक्राउ परेसँगै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उता रमेश लेखकलाई पनि थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । गैरकानुनी पक्राउ गरी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । ओलीको भने स्वास्थ्य जोखिमकै कारण त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको आइतबारसम्म उच्चरक्तचाप, मधुमहे, मिर्गौलामा पानी जमेको, पित्तथैलीमा पथरी, थाइराइड लगायत समस्या देखिएको अस्पतालले जनाएको छ । उपचारका क्रममा ओलीको स्वास्थ्य परीक्षण गर्न सबै टेस्टमा पठाइएकाले रिपोर्ट हेरेपछि स्वास्थ्य अवस्था थप थाहा हुने र पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने या नगर्ने बिषयमा निर्णय हुने अस्पतालका प्रवक्ता तथा न्युरोलोजिष्ट डा. गोपाल सेढाइँले बताउनुभयो । यता पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच आज पनि झडप भएको छ । माइतीघर–बबरमहल क्षेत्रमा आज दिउँसो पनि अवस्था तनावपूर्ण बनेको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले आवश्यक बल प्रयोग गरिरहेको थियो । यसबीच जिल्ला अदालत काठमाडौंअगाडि झडप हुँदा एकजना घाइते भएका छन् । प्रहरीले नौजनालाई नियन्त्रणमा लिएको छ । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरीले लाठी चार्ज गरेको थियो । केही घाइते भएका छन् । एक जना टाउको चोट लागेको खबर प्राप्त भएको छ ।