search logo
NOTIFICATIONS

प्रधानमन्त्री सुशीलाद्वारा पदभार ग्रहण, मृतकलाई शहीद घोषणा, १० लाख क्षतिपुर्ति

हाम्रो पेज

२९ भाद्र २०८२, आईतवार १२:४७

काठमाडौं, २८ भाद्र । जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गर्नुभएको छ । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी समेत गर्नुभएकोछ । आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गर्नुभयो । कार्कीलाई ६ महिनाभित्र चुनाव गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास आगजनी र तोडफोले क्षतिग्रस्त भएकाले कार्की अहिले निजी निवासमा बसिरहनु भएको छ । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । त्यस्तै, मृतकको परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको हो। आन्दोलनमा घाइतेहरुको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको बताउनु भएको छ । पदभार ग्रहण गर्दै उहाँले आफू जनभावनाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको बताउनुभयो । ‘जुन परिस्थितिमा म आएँ, रहरले आएको होइन,’ उहाँले सम्बोधनका क्रममा भन्नुभयो, ‘सडकबाटै मलाई जिम्मा दिइयोस् भन्ने आग्रह भएपछि म आएको हो। म सत्ताको रसस्वादन गर्न आएको होइन। उमेर पनि मेरो त्यो होइन। सेवा गर्न आएको हो।’ उहाँले ६ महिनाभन्दा बढी आफू सत्तामा नबस्ने पनि बताउनुभयो । ‘नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट म गर्छु। मलाई उहाँहरूले साथ दिनुपर्छ। सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भव छैन।’ उहाँले आफूलाई चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मौका मिलेको भन्दै सफलताको कामना गर्ने सबैलाई धन्यवाद दिनुभयो । ‘कुन परिस्थितिमा अन्तरिम सरकारको गठन भयो हामी जानकारी छौँ। २७ घण्टाको आन्दोलनमा यो सबै भयो,’ उहाँले भन्नुभयो। उनले आन्दोलनको क्रममा सुरक्षा निकाय, प्रहरी बिट, अदालत र सिंहदरबारसमेत जलाएर नष्ट गरिएकोमा दुःख व्यक्त गर्नुभयो । ‘हाम्रा सबै रेकर्डहरू नष्ट भयो। सर्वोच्चको फाइल जल्यो। भवन बनाउन सकिन्छ, तर रेकर्ड जल्दा हामी शून्यमा पुग्यौँ।’ मुलुकको आवश्यक संस्थाहरुलाई छानिछानी आक्रमण भएको बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले नेपालको अत्यन्त आवश्यक संस्थाहरुमा छानी छानी प्रहार भएको बताउनुभयो । उहाँले राष्ट्रका लागि चाहिने सबै कागजात नष्ट पारिएको बताउनुभयो । ‘मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ,’ उहाँले भन्नुभयो , ‘प्रहरीहरु सुरक्षाका लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो। प्रहरीका चौकी, थाना सबै जले। अदालतका सम्पूर्ण फाइल नष्ट भएर गयो।’ ‘हाम्रै सिंहदरबार भित्रका कयौँ नष्ट भएर गयो। बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरू, जसले यो देशको शासन चलाएको छ। ती मिसिल, कागजहरू नष्ट भयो,’ उहाँले भन्नुभयो। यो देखेर आफूलाई लाज लागेको भन्दै नेपालीले नै यस्तो गरेको होला भनेर प्रश्न समेत गर्नुभयो । ‘अलिकति यो देखेर मलाई लाज पनि लागेको छ,’ कार्कीले भन्नुभयो, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने? ’ उहाँले अगाडि भभन्नुभयो , ‘मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला, यो घटना मलाई लाग्छ पहिलो चोटि भएको हो।’ यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो। मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ।
चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव
काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीभित्र आज बिहान ६ वटा शव भेटिएका छन्। जलेको अवस्थामा ६ वटा शव भेटिएको प्रहरीले जानकारी दियो। ‘भवनको माथिल्लो तलामा ६ वटा मानव कंकाल भेटिएका छन्, अझै खोजी जारी छ’, एक प्रहरी अधिकारीले बताए। जेनजी आन्दोलनका क्रममा उक्त भाटभटेनीमा तोडफोड र आगजनी भएको थियो। त्यस क्रममा उनीहरू जलेका हुन्। डीएनए परीक्षणबाट मात्र मृतकको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।