हाम्रो पेज
काठमाडौँ १५ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विश्वका महान् फुटबल खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा पनि अब्बल खेलाडी उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको बताउनुभएको छ। उहाँले खेलकुद पूर्वाधार विकास र ग्रासरुट कार्यक्रममार्फत नेपाललाई खेलकुदको पावरहाउस बनाउने सरकारको दृष्टिकोण प्रस्तुत गर्नुभएको हो। बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाद्वारा दशरथ रंगशालामा आयोजित फिफा फुटबल फर स्कुल्स कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री ओलीले विगतका महान् खेलाडी पेलेदेखि वर्तमानका सुपरस्टार मेसी, रोनाल्डो र एम्बाप्पेसँग प्रतिस्पर्धा गर्न सक्ने र उनीहरूलाई पनि उछिन्न सक्ने क्षमता भएका खेलाडीहरू नेपालमै उत्पादन गर्ने राष्ट्रिय लक्ष्य रहेको स्पष्ट पार्नुभयो। हामीले पेलेदेखि लिएर अहिलेका मेसी अथवा अरू खेलाडीहरूसम्मको दाँजोमा, एम्बाप्पे, रोनाल्डो सबैको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले नेपालमा उत्पादन गर्ने लक्ष्य लिएका छौँ, प्रधानमन्त्री ओलीले भन्नुभयो।

भक्तपुरमा ५० हजार क्षमताको रंगशाला बन्ने
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलकुद पूर्वाधार निर्माणमा सरकारले ठूलो लगानी गर्न लागेको घोषणा गर्नुभयो। उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गर्नुभयो, जसले नेपाली खेलकुदमा नयाँ युगको सुरुवात गर्नेछ।हाम्रा ससाना बालबालिकाहरू हुर्कंदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसक्नेछ, उहाँले भन्नुभयो, अब खेल सिक्नका लागि रंगशालाको कमी हुनेछैन। उहाँले धनुषा र झापामा निर्माण भइरहेका अन्तर्राष्ट्रिय स्तरका रंगशालाहरूले पनि खेलाडीहरूलाई पर्याप्त अवसर प्रदान गर्ने बताउनुभयो। साथै, कीर्तिपुरस्थित क्रिकेट रंगशालाको संरक्षण र सदुपयोग गर्दै क्रिकेट खेलको विकासमा पनि सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो। नेपाललाई सम्पूर्ण खेलमा स्वर्ण पदकको विजेता बनाउने हिसाबले हामी अगाडि बढ्नुपर्छ, उहाँले भन्नुभयो। एन्फाले फिफाको सहयोगमा सञ्चालन गरेको यो परियोजनाले नेपालभरका १,०७२ विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गरेको छ। परियोजनाअन्तर्गत ३२ हजार ६४० वटा फुटबल वितरण गरिनेछ। यसका लागि फिफाले एन्फालाई ५० हजार अमेरिकी डलर उपलब्ध गराइसकेको छ। यो कार्यक्रमले विद्यालय स्तरबाटै नयाँ प्रतिभाको खोजी गर्ने र उनीहरूलाई सही प्रशिक्षण प्रदान गरी नेपाली फुटबलको जगलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।