हाम्रो पेज
ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ घाइते

लगातारको वर्षाका कारण ताप्लेजुङमा पहिरो जाँदा एकै परिवारका पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, सिदिङबा गाउँपालिका(३, खिर्लाबोटेमा गएराति करिब १ बजे स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरेको हो। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। यस घटनाले जिल्लामा बाढी पहिरोको त्रास बढाएको छ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले आजका लागि विशेष बाढी बुलेटिन जारी गर्दै विभिन्न जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको जोखिम औंल्याएको छ। महाशाखाले काठमाडौंसहित १५ जिल्लालाई पहेँलो रङ अर्थात् मध्यमदेखि उच्च जोखिमको सूचीमा राखेको छ। मध्यमदेखि उच्च जोखिम भएका जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ र तनहुँ रहेका छन् भने मध्यम जोखिममा मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली र कञ्चनपुर रहेका छन् । यस्तै झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ र बर्दिया सामान्य जोखिममा छन् । महाशाखाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र आवश्यक पूर्वतयारीमा रहन अनुरोध गरेको छ।
