
काठमाडौं, ४ अषाढ I प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाने हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले प्रधानमन्त्रीको स्पेन भ्रमणदेखि महत्त्वपूर्ण नियुक्ति र अर्बौंको वैदेशिक सहायता स्वीकार गर्नेसम्मका एक दर्जनभन्दा बढी महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
मुख्य राजनीतिक र प्रशासनिक निर्णयहरू
प्रधानमन्त्रीको स्पेन भ्रमणः प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १६ देखि २१ गतेसम्म स्पेनको ६ दिने औपचारिक भ्रमण गर्नुहुने भएको छ। मन्त्रिपरिषद्ले उहाँको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृत गरेको छ।
सशस्त्र प्रहरीमा बढुवाः सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबहादुर ठाडा मगर लाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको छ।
न्यायाधिकरणमा नियुक्तिः वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासका माननीय न्यायाधीश डा. शान्ता सेढाईं लाई तोक्ने निर्णय गरिएको छ।
सचिवहरूको सरुवा र बढुवाः
सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव श्री पराशर ढुंगाना लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
प्रधानमन्त्री कार्यालयका सहसचिव श्री निर्मला अधिकारी भट्टराई लाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कामकाज गर्न मुकरर गरिएको छ। नेपाल प्रशासन सेवाका सहसचिव डा। खगेन्द्र प्रसाद सुवेदी लाई राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव मा बढुवा गरिएको छ।
ठूलो मात्रामा ऋण र अनुदान स्वीकृतः
पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट करिब २० अर्ब ७९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
रणनीतिक सडक सुधारका लागि विश्व बैंकबाटै थप करिब २९ अर्ब ७९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने।
बर्दियामा ग्रामीण विकास परियोजनाका लागि दक्षिण कोरिया सरकारबाट करिब १ अर्ब ८ करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने।
विभिन्न कार्यक्रम र भ्रमणमा मन्त्रीहरूलाई स्वीकृतिः
भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल टर्कीमा आयोजना हुने ‘ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम’ मा सहभागी हुने। युवा तथा खेलकुद मन्त्री भुजवाल चौधरी दुबईमा हुने ‘एन्टी(डोपिंग’ सम्बन्धी मन्त्रीस्तरीय बैठकमा सहभागी हुने। सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डमा हुने ‘वर्ल्ड समिट अन इन्फर्मेसन सोसाइटी’ र ‘एआई फर गुड’ सम्मेलनमा सहभागी हुने। स्वास्थ्य मन्त्री प्रदीप पौडेल थाइल्याण्डमा हुने मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुने।
अन्य महत्त्वपूर्ण स्वीकृतिहरू
डब्लुटीओ को माछापालन सम्बन्धी अनुदान सम्झौता अनुमोदनका लागि संसद्समक्ष पेस गर्ने।
नेपालभारत द्विपक्षीय परामर्श समूहको सोह्रौं बैठकमा सहभागी हुन प्रतिनिधिमण्डल गठन गर्ने।
एमसीए(नेपाल लाई प्रसारणलाइन निर्माणका लागि नवलपरासीको ४३।६६ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिने।
इन्टरनेशनल बिग क्याट अलाइन्सको सदस्यता प्राप्त गर्ने।
तनहुँ र चितवनमा अस्पताल निर्माणका लागि सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिने।
