
एजेन्सी, ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने विषयमा भएको पछिल्लो वार्ता अत्यन्तै सकारात्मक र उपलब्धिमूलक भएको दाबी गरेका छन्। विगत दुई दिनदेखि जारी सघन छलफलपछि ट्रम्पले मध्यपूर्वमा जारी युद्ध र तनावको पूर्ण समाधानका लागि ‘धेरै राम्रो र उत्पादक’ कुराकानी भएको बताएका हुन्। ट्रम्पको यो भनाइले लामो समयदेखि युद्धको सङ्घारमा रहेको विश्व राजनीतिमा केही राहतको संकेत दिएको छ। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलु मा लेख्दै ट्रम्पले वार्ताको प्रकृति र लय निकै गम्भीर, विस्तृत र रचनात्मक रहेको उल्लेख गरेका छन्। यो सकारात्मक वातावरणलाई थप मजबुत बनाउन इरानसँगको वार्ता यसै हप्ताभरि जारी रहने उनले जानकारी दिएका छन्। इरानसँगको सम्बन्धमा देखिएका जटिलता हटाउन अमेरिकाले अहिले कूटनीतिक पहललाई तीव्रता दिएको देखिन्छ। यही वार्ताको सफलतालाई मध्यनजर गर्दै ट्रम्पले अमेरिकी रक्षा मन्त्रालय डिपार्टमेन्ट अफ वारलाई इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन्। यो स्थगन हाल जारी बैठक र छलफलको सफलतामा निर्भर रहने समेत उनले स्पष्ट पारेका छन्। ट्रम्पले आक्रमण रोक्ने निर्णय वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि लिइएको बताएका छन्। इरान र अमेरिकाबिचको यो पछिल्लो संवादले मध्यपूर्वमा केही समयदेखि चल्दै आएको सैन्य तनाव मत्थर हुने अपेक्षा गरिएको छ। उता इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले पछि हट्न बाध्य भएको भनेर कडा टिप्पणी गरेको छ । अफगानिस्तानको काबुलस्थित इरानी दूतावासले ट्रम्पले इरानको “कडा चेतावनी” पछि आक्रमण नगर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ । दूतावासका अनुसार इरानको स्पष्ट सन्देशपछि अमेरिका पछि हट्न बाध्य भएको हो ।यसैबीच, इरानी समाचार एजेन्सी तस्निमले पनि ट्रम्पको निर्णयलाई ‘पछाडि हटेको’ रूपमा व्याख्या गरेको छ । ट्रम्पले यसअघि इरानका आणविक तथा ऊर्जा संरचनामाथि ४८ घण्टाभित्र आक्रमण गर्ने चेतावनी दिएका थिए ।ट्रम्पको पछिल्लो घोषणापछि ओरालो लागेको सेयरबजार र उकालो लागेको तेलको मूल्यमा ह्वात्तै सुधार देखिएको छ। बीबीसीका अनुसार मध्यपूर्वमा पूर्ण शान्तिका लागि प्रयास भइरहेको ट्रम्पको टिप्पणीसँगै कच्चा तेल ब्रेन्ट क्रुड १३ प्रतिशत घटेर ९६ अमेरिकी डलर प्रतिब्यारेलमा झरेको छ भने एफटीएसई १०० इन्डेक्स ०.५ प्रतिशतले बढेको छ। यसअघि यो इन्डेक्स २ प्रतिशत बढीले घट्न पुगेको थियो। त्यसैगरी ग्यास मूल्य समेत घटेको छ।
