search logo
NOTIFICATIONS

कांग्रेस फुट्ने निश्चित,गगन विश्वले धोका दिए, पार्टी फुटतिर गयोः पूर्णबहादुर, ८ बजेदेखि मतदान

हाम्रो पेज

३० पुष २०८२, बुधबार १५:३४

काठमाडौं ३० पुष । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबीविरोध ४ बजेदेखि ४ः ३० बजेसम्म गर्न सकिनेछ । समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने र राति ८ बजेदेखि १ बजेसम्म मतदान हुने सूची सार्वजनिक गरेको छ । उता नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको ब्रिफिङ गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले यसअघि पुषमा पार्टीको नियमित महाधिवेशन ल्याउने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेर ल्याएको र उक्त समयमा कामकारबाही नभ्याएको बताउनुभयो । ‘पुषमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो । सल्लाहअनुसार नै तालिका ल्याउँदा, कामकारबाही गर्दागर्दै भ्याइएन,’ उहाँले भन्नुभयो , ‘महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनुभयो । उहाँहरू कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष हैन जसरी विशेष महाधिवेशनमा लाग्नु भयो । पार्टीलाई विभाजनमा धकेल्ने गरी जानुभयो ।’ त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले पार्टी विभाजनमा धकेलिएको बताउनुभएको छ । ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ,’ खड्काले बैठकमा भन्नुभयो, ‘महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक सन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गर्नु भएको हो । यसमा केही विषय मिल्नै नसक्ने खालका भए ।’