सप्तकोशीमा उद्धार अभ्यासमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता, एक जनाको शव भेटियो

हाम्रो पेज

२३ जेष्ठ २०८२, शुक्रबार १२:४१
विराटनगर, २३ जेठ I सप्तकोशीमा उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका दुई गोताखोर मध्ये एकजनाको शव फेला परेको छ। शुक्रबार बिहान खोजीको क्रममा घटनास्थलबाट झण्डै तीन किलोमिटर दक्षिणतर्फ सशस्त्रका जवान हरदेब राजबंशीको शव फेला परेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका गोताखोर सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव आज बिहान सप्तकोशी किनारमा फेला पारेको हो । झापा घर भएका राजबंशी नम्बर १ श्रीअन्तु गण इलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यासको क्रममा बिहीबार दुईजना सशस्त्र प्रहरी जवान नदीमा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी वल नम्बर ६ गण सप्तरी दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्बर ७ गण सिराहाको संयुक्त टोलीले बिहीबार संयुक्त अभ्यास गर्ने क्रममा दुई जवान बेपत्ता भएका हुन् ।

बिहीबार दिउँसो ३ बजेदेखि नम्बर १ श्रीअन्तु गण इलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान हरदेव राजबंशी र डोटी घर भइ नम्वर १३ गण पर्सा दरबन्दी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउद अभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनासाथ उनीहरुको खोजी कार्य सुरु गरिएको थियो । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभबी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोर पनि खटिएका छन् ।