पश्चिमदेखि पूर्वसम्म अविरल वर्षा, धेरै सडक अवरुद्ध मुग्लिन सडक खुल्यो

हाम्रो पेज

१४ कार्तिक २०८२, शुक्रबार ११:००

काठमाडौं १४ कार्तिक । देशको पश्चिमदेखि पूर्वसम्म धेरै स्थानमा पानी परिरहेको छ । हल्कादेखि भारीसम्म वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिम र मध्य क्षेत्रका केही स्थानमा आज कात्तिक १४ बेलुकादेखि वर्षा रोकिने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश र पूर्वी क्षेत्रमा भने जोखिम कायमै रहेको मौसमविद्को भनाइ छ । पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले काठमाडौंसहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा यस दिन अपराह्नसम्म वर्षा रोकिने उल्लेख गर्नुभएको छ । मधेस प्रदेशको सर्लाहीसम्म पनि आजै पानी पर्न रोकिने छ । “काठमाडौंलगायतका मुलुकका मध्य र पश्चिम वाग्मती, गण्डकी, लुम्बिनी तथा तराईका सर्लाहीदेखी चितवनसम्मका क्षेत्रमा आज अपराह्नसम्म वर्षा रोकिने र साँझदेखि मौसम खुल्दै जाने,” उहाँले उल्लेख गर्नुभएको छ । कोशी प्रदेशका केही जिल्लामा भने शनिबार बिहानसम्म वर्षा रोकिने र मध्याह्नदेखि मौसम खुल्ने अनुमान छ । आइतबार कात्तिक १६देखि देशभरि जता पनि घुम्न जाने र धान काट्ने–भित्र्याउने तयारी गर्न सकिने उहाँले उल्लेख गर्नुभएकोछ । देशमा हाल बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव छ । मोन्था यति बेला भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो समय भएको निरन्तरको वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध हुन पुगेका छन् ।

जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवत ‘मोन्था’का कारण कोशी प्रदेशका धेरै स्थानमा अत्यधिक वर्षा भई विपद्जन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गर्दै मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । यो राजमार्गको इलाम खण्ड भने पहिरोका कारण अवरुद्ध छ । सङ्खुवासभाको भोटखोला–४ बरुणखोला स्थित कोशी राजमार्ग गत जेठदेखि नै अबरुद्ध छ । बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको हो । रुकुम पूर्व मध्यपहाडी लोकमार्ग निर्माण कार्य अवधिसम्मको लागि पूर्णरुपमा बन्द रहेको छ । मुस्ताङ वारागुङ मुक्तिक्षेत्रको जोमसोम कोरोला सडक खण्ड स्थित छुसाङ र ताङवे, बिच कालाभिर स्थित बाटो अवरोध लेदोसहितको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । यता म्याग्दी बेनी–०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । बीपी राजमार्गको विभिन्न स्थानमा पनि सडक अवरुद्ध छ । पाँचथरको तुम्वेवा–२ र धनकुट्टाको चौबिसे –४ सिमाना स्थित तमोर–कोरिडोर सडकखण्ड बाढीका कारण अबरुद्ध छ । ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्ग, रसुवाको पासाङल्हामु सडक खण्डमा विभिन्न स्थान, सिन्धुलीको गोलन्जोर–६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । पाँचथरको याङवरक–३ मध्य पहाडी लोकमार्ग, रामेछापको खाँडादेवी–१ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला पुलनजिक बाटोमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । शुक्रबार बिहान उक्त स्थानमा ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो । ढुंगा झर्ने क्रम रोकिएसँगै सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ । “मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ,” सडक डिभिजनले शुक्रबार बिहान सवा ९ बजे जारी गरेको सूचनामा उल्लेख छ, “ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेसिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुचारु भइरहेको छ ।” वर्षाको समयमा यो क्षेत्रमा पहिरोको उच्च जोखिम हुने भएकाले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने उक्त क्षेत्रमा यसअघि पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।