हाम्रो पेज
विराटनगर, ८ अषाढ I आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतको उत्तराखण्ड प्रदेशस्थित उद्यमसिंह नगरमा बन्धक बनाइएका ३५ जना नेपालीलाई उद्धार गरिएको छ। दिल्लीस्थित सामाजिक संस्था ‘किन इन्डिया’ र स्थानीय प्रहरीको संयुक्त प्रयासमा उनीहरूलाई नारकीय जीवनबाट मुक्त गरिएको हो।
यो घटनामा नेपाली नागरिककै संलग्नता देखिएको छ, जसले मानव तस्करीको यो जालो कति संगठित र डरलाग्दो छ भन्ने उजागर गरेको छ। उद्यमसिंह नगर जिल्लाको काशीपुरबाट उद्धार गरिएका १६ देखि ४१ वर्षसम्मका युवाहरूलाई दुई सातादेखि १० महिनासम्म बन्धक बनाएर राखिएको थियो। हिन्दुस्तान दैनिकका अनुसार, उनीहरूलाई तीनवटा कोठामा थुनेर कुटपिट गर्ने र डर-धम्की दिने गरिएको थियो। उद्धार गरिएकाहरूको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। उद्धार गरिएकाहरू ताप्लेजुङ, पाँचथर, इलाम, सुनसरी, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी लगायत १३ जिल्लाका छन्।
यो अपराधको सञ्जाल नेपाली नागरिककै प्रयोग गरेर चलाइएको प्रहरीले जनाएको छ। नेपालमा रहेका आफन्त वा चिनेजानेका मानिसलाई आकर्षक आम्दानी हुने जागिरको लोभ देखाएर उत्तराखण्ड बोलाइन्थ्यो। भारत पुगेपछि कागजात बनाउने बहानामा उनीहरूबाट २० हजारदेखि ५० हजार भारतीय रुपैयाँ सम्म असुल गरिन्थ्यो। पैसा असुल गरेपछि काममा पठाउने प्रक्रिया भइरहेको भन्दै झुलाएर राखिन्थ्यो। पछि, तिनै पीडितहरूलाई डर-धम्की दिएर नेपालबाट थप मानिसहरूलाई फसाउन बाध्य पारिन्थ्यो। उद्यमसिंह नगरका जिल्ला पुलिस अधीक्षक एसपी उत्तमसिंह नेगीका अनुसार, यस घटनामा संलग्न रहेको आरोपमा धनगढीका वीरेन्द्र शाही र अन्य दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ। एसपी नेगीका अनुशार केहीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ I ‘किन इन्डिया’ का प्रमुख नवीन जोशीले यो घटना मानव तस्करीको एक संगठित रूप भएको र यस्ता घटनाहरू सीमावर्ती क्षेत्रमा बढिरहेको बताउनु भएको छ ।
