search logo
NOTIFICATIONS

एमालेको दोस्रो विधान महाधिवेशन सुरु, विद्या भण्डारीको भावुक सन्देश

हाम्रो पेज

२० भाद्र २०८२, शुक्रबार ११:५६

काठमाडौं, २० भाद्र । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजबाट सुरु भएको छ। तीनदिन सम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी कुल २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो। अधिकांश प्रतिनिधिहरू काठमाडौं आइसकेको गौतमले बताउनुभयो।

महाधिवेशन स्थलसम्म पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ। एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ। गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ। प्रतिनिधिको परिचय स्क्यान गर्न ६ वटा कम्प्युटरका बुथ राखिएका छन्। यसै बुथबाट प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरूले प्रवेश पाउनेछन्। प्रतिनिधिहरूका लागि चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन स्थललाई भव्य बनाउन प्रवेशद्वारबाट हलभित्र छिर्नासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्णकदसहित हात उठाएको तस्बिर र दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ। पानीका फोहरा भएका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका देखिनेछन्।

महाधिवेशन परिसरमा नेकपाका संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र जननेता मदन भण्डारीका पूर्णकदका तस्बिरहरू छन्। यसैगरी कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्णकदका तस्बिरहरू राखिएका छन्। लगभग १२ मिनेटमा उद्घाटन कार्यक्रम सकिने तयारी छ। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ, जुन हिजोको सचिवालय बैठकले पारित गरिसकेको छ। अध्यक्ष ओलीको प्रतिवेदनपछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ। त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदनहरू पनि आजै पेश गरिनेछ। साँझ पाँच बजे आजका कार्यसूची सकिने गौतमले बताउनुभयो।


मञ्च व्यवस्थापन समिति संयोजक तथा पार्टी पोलिटब्युरो सदस्य बिनोद श्रेष्ठका अनुसार हल बाहिर निरन्तर विभिन्न जातजाति र समुदायका झाँकीहरू प्रस्तुत गरिनेछ। ती दृश्यहरू हल भित्रका प्रतिनिधिहरूले डिजिटल बोर्डमार्फत हेर्न सक्नेछन्। भोलि प्रतिवेदनहरूमाथि नौ वटा समूहमा छलफल हुनेछ र पर्सि समूहले पेश गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ। एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो।


यसैबीच पूर्वराष्ट्रपति तथा एमाले पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै एउटा पत्र लेख्नुभएको छ। केन्द्रीय कमिटीको साउन ५ र ६ गते बसेको बैठकको निर्णयका नाममा आफ्नो नवीकरण भइसकेको सदस्यतामाथि प्रश्न उठाइएकाले केही कुरा राख्ने उद्देश्यसहित उहाँले पत्र लेख्नुभएको हो। उहाँले प्रश्न गर्नुभएको छ, ‘त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ’ आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको भन्दै भण्डारीले अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको पत्रमा उल्लेख गर्नुभएको छ। ‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ। यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो। त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु’, भण्डारीले भन्नुभएको छ। उहाँले भावुक हुँदै लेख्नुभएको छ, ‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ। पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो। यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो।’ भण्डारीले आफ्नो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन रहेको बताउँदै यसलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् भनी अनुरोध गर्नुभएको छ।