हाम्रो पेज
विराटनगर, ७ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतमाथि आइतबार बिहान विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ । नेता बस्नेतलाई रातो रङ भरिएको बेलुनको लोला हानेर दुर्व्यवहार गर्न खोज्ने २ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–२ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन् । बस्नेत इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत बिहान करिब १० बजेर ५० मिनेटमा विराटनगर आइपुगेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा दुर्व्यवहारको प्रयास भए पनि अवस्था तत्कालै सामान्य पारिएको थियो । घटनापछि बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागिसकेका छन् । मोरङ प्रहरीका अनुसार विमानस्थल र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौतमले ब्ताएअनुसार जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरूको न्यायको पक्षमा भन्दा जेन–जी आन्दोलनको विरुद्धमा एमाले सक्रिए भएका कारण सांकेतिक विरोधका लागि रातो मसी छ्यापिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि युवाहरुले बस्नेतविरुद्ध प्रहरीको गाडीबाटै नाराबाजी गरेका थिए । यसअघि बारामा आयोजना गरिएको युवा भेलामा सहभागी हुन काठमाडौंबाट जाने क्रममा उनलाई रोक्नकै लागि सिमरा विमानस्थलमा जेनजीहरुले विरोध प्रर्दशन गरेका थिए । सो क्रममा एमाले युवाहरुले नै आक्रमण गरेपछि २ दिन सिमरामा कफ्र्यू लगाइएको थियो । सो क्रममा आक्रमणमा उत्रिएका एमालेबाट निर्वाचित २ वडाध्यक्षसहित एम युवा नेता पक्राउ परेका छन् ।