search logo
NOTIFICATIONS

चीनको विशाल सैन्य परेड हेर्न ओलीदेखि किमसम्म बेइजिङमा

हाम्रो पेज

१७ भाद्र २०८२, मंगलवार ११:५५

काठमाडौं,१७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली चीनको शाङ्घाई संगठन एससीओ प्लसको शिखर सम्मेलन सकेर बेइजिङ पुग्नुभएको छ। थियानजिनको कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट चीनको बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासीवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बेइजिङ पुग्नुभएको हो। त्यहाँ प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता हुनेछ। उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीन प्रस्थान गर्नुभएको हो। थियानमेन स्क्वायरमा सैन्य परेड गरेर चीनले आफ्नो सामरिक वैभवको उच्चतम नमुना विश्वसामु प्रस्तुत गर्दैछ। भोलि हुने यो परेड हेर्न महाशक्ति रुसका राष्ट्रपति, उत्तर कोरियाका नेता किम जोङ उनदेखि नेपालका प्रधानमन्त्रीसम्म चीन पुगिसक्नुभएको छ।

यसै क्रममा उत्तर कोरियाली नेता किम जोङ उन पनि चीनको राजधानी बेइजिङ पुग्नुभएको छ, जहाँ उहाँ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुनुहुनेछ। यो अवसरले किमलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग भेट गर्ने अवसर प्रदान गर्नेछ। यसलाई उहाँको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय सहभागिता मानिएको छ। दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किमले मंगलबार आफ्नो बख्तरबन्द रेलमार्फत चीन प्रवेश गर्नुभएको हो। सुरक्षा व्यवस्थाका कारण रेल ढिलो गतिमा यात्रा गर्ने भएकाले बेइजिङ पुग्न करिब २४ घण्टा लागेको थियो । किमको यसपटकको सहभागिता सन् १९५९ पछि पहिलोपटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा उपस्थिति जनाउनुभएको हो। यसपटकको कार्यक्रममा म्यानमार, इरान, क्युबासहितका २६ राष्ट्रप्रमुखहरू सहभागी हुनुहुनेछ। यसअघि २०१५ को विजय दिवस परेडमा उत्तर कोरियाले उच्च अधिकारी छोए रयोङ–हेलाई पठाएको थियो। किम जोङ उन भने सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ जानुभएको थियो। किमको रेलयात्रा परम्परा उहाँका हजुरबा किम इल सुंगले सुरु गर्नुभएको थियो। उहाँका पिता किम जोङ इलले पनि विमान यात्राप्रति डर भएकाले बख्तरबन्द रेलमै प्रायः विदेश भ्रमण गर्नुहुन्थ्यो। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किमको हालको रेलमा करिब ९० वटा डब्बा छन्, जसमा बैठक कक्ष, शयनकक्ष र अतिथि सत्कार कक्षसम्म समावेश छन्। किमसमेत चिनियाँ परेड हेर्न उत्सुक रहेका बेला यता चीन पनि आफ्नो उच्च प्रविधियुक्त सैन्यकला प्रदर्शनको तयारीमा छ। दोस्रो विश्वयुद्धमा जापानमाथिको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनले भव्य सैनिक परेड आयोजना गर्न लागेको हो। यो कार्यक्रम मात्र ऐतिहासिक स्मरणको निरन्तरता मात्र नभई भविष्यको युद्धका लागि तयार रहनुपर्छ भन्ने सन्देश विश्वलाई दिन पनि आयोजना गरिँदैछ। राष्ट्रपति सीसँगै, रुसी राष्ट्रपति पुटिनसहितका २६ भन्दा बढी देशका शीर्षस्थ विदेशी नेताहरू र अधिकारीहरू सो समारोहमा सहभागी हुनुहुनेछ। पुटिनको उपस्थितिका कारण केही युरोपेली राजदूतहरूले कार्यक्रम बहिष्कार गर्ने सोच बनाइरहेका छन्। युरोपियन देशहरूले युक्रेनविरुद्ध रसियाले आक्रमण गरेको भन्दै क्रेमलिनलाई अन्तर्राष्ट्रिय वैधानिकता दिन सक्ने भन्दै बहिष्कार गर्ने तयारी गरेका छन्। तर चीनमा पुटिन, मोदी र सीले आफ्नो एकताको सन्देश विश्वभर सम्प्रेषण गरिसक्नुभएको छ। यो सैन्य परेड करिब ७० मिनेट लामो हुनेछ, जसमा दर्जनौँ सैन्य टुकडीहरूले बेइजिङको मुटु मानिने चाङआन एभिन्यू हुँदै आफ्नो मार्च अगाडि बढाउने छन्। सर्वोच्च सेनापति सीले स्क्वायर हुँदै हुने मार्च अघि सैनिकहरूको निरीक्षण गर्नुहुनेछ। यस परेडमा १० हजारभन्दा बढी सैनिक, सयौँ विमान र सयौँ स्थल–सैनिक सवारी साधन सहभागी हुनेछन्। औपचारिक रूपमा यो परेडलाई शान्ति र अन्तर्राष्ट्रिय न्यायको उत्सव भनिएको छ।