मनसुन कमजोर बन्दा गर्मी बढ्यो, तर २७ जिल्लामा बाढीको चेतावनी

हाम्रो पेज

८ श्रावण २०८२, बिहीबार ११:२८
पहाडी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह


विराटनगर, ८ श्रावण । मनसुनको सक्रियता घट्दा आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू भागमा गर्मी महसुस गरिएको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन पूर्ण रूपमा निष्क्रिय नभए पनि कमजोर बनेकाले मौसम सुक्खा भएको हो। यद्यपि, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति कोशी र मधेश प्रदेशका एकरदुई स्थानमा ठूलो पानी पर्न सक्ने अनुमान छ। मनसुन कमजोर भए पनि केही क्षेत्रमा हुने वर्षाले साना नदीहरूमा आकस्मिक बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका २७ जिल्लामा बाढीको जोखिम रहेको औँल्याउँदै एल्लो अलर्ट पहेँलो संकेत जारी गरेको छ। महाशाखाका अनुसार बिहीबार बिहानको मापनमा कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती जस्ता प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै छ, तर पहाडी क्षेत्रका साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्नेछ। महाशाखाले मध्यम जोखिमको उच्च सम्भावनामा ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप र सिन्धुपाल्चोक तथा आसपासका क्षेत्रलाई राखेको छ । यी जिल्ला भएर बग्ने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम भए पनि त्यसको सम्भावना उच्च रहेको छ। यस्तै मध्यम जोखिमको मध्यम सम्भावनाभएका जिल्लाहरूमा इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की र रुकुम पूर्व तथा आसपासका क्षेत्र रहेका छन् । यी जिल्ला भएर बग्ने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम र त्यसको सम्भावना पनि मध्यम रहेको छ। महाशाखाले उल्लिखित सबै जिल्लाका नदीतटीय क्षेत्र र तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।