हाम्रो पेज
विराटनगर, १२ अषाढ । सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा एक हप्तासम्म सञ्चालित ‘ट्राफिक सप्ताह २०८२’ सम्पन्न भएको छ । अभियान अवधिभर करिब ५० हजार चालक तथा सडक प्रयोगकर्तालाई सचेत गराइएको छ भने विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यता तथा प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षतामा इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच सप्ताहको समापन गरिएको हो । असार ६ गतेदेखि प्रदेशका १४ वटै जिल्लामा एकसाथ सुरु भएको सप्ताहअन्तर्गत विभिन्न रचनात्मक तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो । जसमा सार्वजनिक सवारीमा हुने दुव्र्यवहारविरुद्धको अभियान, ‘ड्राइभिङ गर्दा मोबाइल नचलाऔं’ अभियान, तीनपांग्र्रे तथा दुईपांग्रे सवारीको प्राविधिक जाँच, लेन अनुशासन र स्कुल बसको अनुगमन तथा चालक प्रशिक्षणजस्ता कार्यक्रमहरू समावेश थिए । यी कार्यक्रमहरूमार्फत कुल ४९,७४२ जनालाई ट्राफिक नियमबारे प्रत्यक्ष प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।
कार्यक्रमको एक विशेष आकर्षणको रूपमा विभिन्न समयमा हराएका सवारी साधनहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट केही सक्कली र केही नक्कली नम्बर प्लेटमा चलाइएको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेका आठवटा मोटरसाइकलमध्ये सम्पर्कमा आएका तीनजना धनीलाई मन्त्री भण्डारीले साँचो हस्तान्तरण गर्नुभयो । अन्य सवारी साधन आवश्यक कानुनी प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री भण्डारी तथा अन्य वक्ताहरूले सडक सुरक्षा नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषय भएको बताउँदै यस्ता अभियानले सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सडक प्रयोगकर्ता, चालक, व्यवसायी र सरकारी निकायबीचको सहकार्यले मात्र दुर्घटना न्यूनीकरण सम्भव हुनेमा जोड दिनुभयो ।
