search logo
NOTIFICATIONS

राष्ट्रिय सभाको चुनावमा कुन दलबाट को उम्मेदवार ?

हाम्रो पेज

२३ पुष २०८२, बुधबार १३:४४

काठमाडौं,२३ पुष । राष्ट्रिय सभाको चुनावका लागि जसपासहित शीर्ष चार दलहरुले उम्मेदवार टुंग्याएका छन् । राष्ट्रिय सभाको चुनावी तालमेलबाट नेकपा बाहिरिदा नेकपा एमालेले त्यसको उल्लेख्य लाभ उठाएका छन् । अघिल्ला राष्ट्रिय सभा निर्वाचनहरुमा गठबन्धनका कारण सीट गुमाउँदै आएका एमालेले यसपटक १८ मध्ये ८ सीट पाएको छ । जबकी एक्ला एक्लै लडेको भए एमालेले कोशीका ३ सीटमात्र जित्ने थियो । एमालेले दलित,लोपोन्मुख अल्पसंख्यकदेखि मधेशी महिलासमेत मिलाएर ८ जना उम्मेदवार तय गरेको छ । कोशीबाट उम्मेदवार बनेका सोम पोर्तेल दलित हुन् भने रोशनी मेचे लोपोन्मुख अल्पसंख्यक समुदायबाट हुनुहुन्छ । त्यस्तै, मधेशबाट एमालेले रेखा झालाई उम्मेदवार बनाएको छ भने वागमतीबाट किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाललाई दिएको छ । गण्डकीबाट सम्झना देवकोटालाई उम्मेदवार बनाइएको छ । त्यस्तै, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारी एमालेको उम्मेदवार बन्नु भएको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको टुङ्‍गो लगाएको छ । कांग्रेस र एमालेसँग चुनावी तालमेल नमिलेपछि एक्लै लड्न लागेको नेकपाले उम्मेदवार छानेको हो । नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई चयन गरेको छ । मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झालाई उम्मेदवार बनाएको छ। गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ। नेकपासँग तालमेलका लागि सहमति नभएपछि कांग्रेस, एमाले र जसपाले राष्ट्रिय सभाका १८ सिटमा भागबण्डा गरेका छन्। कांग्रेस, एमाले र जसपा नेपालबीचको सहमति अनुसार कांग्रेसले आफ्नो तर्फबाट नौजना उम्मेदवार टुंगो लगाएको छ। यी तीन दलबीचको सहमतिसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा यो सहमतिबाट बाहिरिएको छ। नेकपाले कांग्रेस र एमालेसँग चार सिटको दाबी गरेको थियो। तर, कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन तयार नभएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको छ। तीन दलले आज बिहान राष्ट्रियसभाको निर्वाचन हुन लागेका १८ मध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा गरेका हुन्। कांग्रेसको आन्तरिक भागबण्डामा शेखर कोइराला पक्षबाट रञ्जित कर्ण, वासुदेव जंगली र गीता देवकोटाले अवसर पाएका छन्। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी जसपा नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा अन्य, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान दलित र रन्जित कर्ण अपांगतारअल्पसंख्यक , बागमती प्रदेशबाट गीता देवकोटा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी अन्य उम्मेदवारहरुमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना अन्य, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली अपांगता र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही अन्य र सुदूरपश्चिमबाट खम्मबहादुर खाती अन्य छन् । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।