search logo
NOTIFICATIONS

कहाँ हरायो त्यो बालापनको दशैं ?

हाम्रो पेज

१५ आश्विन २०८२, बुधबार १७:३०

दशैं, हामी नेपालीहरूको महान् चाड, सधैं परिवार, खुसी र नयाँ उमंगको प्रतीक रहिआएको छ। पहिले रातो माटोले लिपेको घरको आँगन, बारीमा फलेका फलफूल, मामाघर जाने हुटहुटी, स्कुलको लामो बिदा, नयाँ लुगाको खुसी अनि हजुरबुबा, हजुरआमाको न्यानो काखमा मनाइएको दशैंको सम्झना कसलाई पो नआउला र ? तर समयसँगै धेरै कुरा बदलिएका छन्। बाँसको लिङ्गे पिङमा चचहुई गर्दै खेलेको सम्झना, झ्याप्प बत्ती जाँदा बहिनीहरूसँग चिमुसी खेलेको पल, आँगनभरि दियो बाल्दै घर सजाएको दृश्य, यी सबै अहिले सपना जस्तै लाग्छन्। प्रविधिले जीवनलाई सहज बनाए पनि यसले हाम्रा चाडपर्वको मौलिकतामाथि भने प्रश्नचिन्ह खडा गरेको छ। स्मार्टफोनको बढ्दो प्रयोगले पारिवारिक अन्तरघुलनलाई कमजोर बनाउँदै लगेको छ। हजुरआमाको हातको मीठो परिकारको ठाउँ प्याकेटका तयारी खानाले लिँदै गर्दा, हामीले दशैंको वास्तविक स्वाद पनि कतै गुमाउँदै त छैनौं ? दशैं भनेको परिवारसँग बिताएको खास पलले नै विशेष बनाउँछ। हामी जतिसुकै आधुनिक भए तापनि चाडपर्वहरू परम्परागत माहोलमा, मौलिक रूपमा आफन्तजनहरूसँग मनाएकै विशेष हुन्छ। हामीले परम्परा र आधुनिकताबीचको सन्तुलन मिलाउन सक्नुपर्छ। प्रविधिको प्रयोग गर्दै मौलिकतालाई कसरी जोगाउने भन्ने बारेमा हामी सबैले सोच्नुपर्ने बेला आएको छ। दशैंको सांस्कृतिक महत्व र यसको मौलिकतालाई जोगाइराख्न, नयाँ पुस्तालाई हाम्रा रीतिरिवाज र परम्पराका बारेमा सिकाउनु आवश्यक छ। दशैंको वास्तविक सार भनेको हार्दिकता, प्रेम र एकता हो, जुन कुनै पनि युगमा अपरिहार्य रहन्छ। हाम्रो पेज परिवारको तर्फबाट बडादशैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।