पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश, रविलाई फसाइएको दाबी

हाम्रो पेज

१२ मंसिर २०८२, शुक्रबार १८:०१

काठमाडौं,१२ मंसिर । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नभएको छ। कार्यवाहक सभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित रास्वपाको नेताहरूले उहाँलाई पार्टीमा स्वागत गराउनुभयो । रास्वपा प्रवेश कार्यक्रममा बोल्दै पोखरेलले देश निर्माणको लागि सबै इमान्दारहरु एक ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले जनताको विश्वासले नै रास्वपा आगामी चुनावमा एक्लै सरकार चलाउने ठाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनतालाई पुरानै नेता पालेर नबस्न र सोच बदल्न आग्रह गर्नुभयो। उहाँले पार्टी सभापति रवि लामिछानेलाई अन्यायपूर्ण व्यवहार गरेर फसाइएको दाबी गर्नुभयो । पोखरेलले सभापति लामिछानेमाथि अन्याय भएकोले त्यसविरुद्ध लड्ने बताउनुभयो । उहाँले भन्नुभयो , ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’ पार्टीका सभापति लामिछानेको आदम्य साहस र उहाँमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको पोखरेलले बताउनुभयो। परिवर्तनका लागि इमान्दार व्यक्तिहरू जोडिनु आवश्यक रहेको भन्दै उहाँले रास्वपामा त्यस्ता व्यक्तिहरू भएको बताउनुभयो । २४ भदौको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसिरहेका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको उहाँले बताउनुभयो । नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो । धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडभन्दा बढी रकम लगानी गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा डीआइजीबाट एकल एआइजी बढुवा भएका पोखरेल आइजीपी नियुक्तिमा अन्यायमा परेको भन्दै सर्वोच्च अदालत जानु भएको थियो । तर अदालतबाट उहाँको पक्षमा आदेश नआएपछि राजीनामा दिनु भएको थियो ।