search logo
NOTIFICATIONS

आज काग तिहार, कागको पूजा गरिंदै

हाम्रो पेज

२ कार्तिक २०८२, आईतवार ०७:२६
विराटनगर, २ कातिक । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागको पुजा गरेर मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यसवर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको हो । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो । आज कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।

यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । भोलि दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि भोलि नै परेको हो । त्यस्तै ४ गते मंगलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

गाईगोरु एवम् गोवद्र्धन पूजा कात्तिक ५ गते बुधवार परेको छ । म्हः पूजा (आत्म पूजा) र नेपाल सम्बतको आरम्भ यसै दिन परेको छ । कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । यसपटक भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।