
काठमाडौं, २ मंसिर । प्रहरीले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताउनु भएको छ । नागरिक स्वतन्त्रताका नाममा उहाँले सार्वजनिक शान्ति भंग गरिरहनुभएको छ, एसपी भट्टराईले भन्नुभएको छ ,उहाँ सबैलाई अभिव्यक्ति स्वतन्त्रतामा विरोध गर्न पाइन्छ भन्नुहुन्छ। तर अभिव्यक्ति स्वतन्त्रताका आडमा उहाँले गरेका क्रियाकलाप सार्वजनिक शान्ति भंग हुने खालका र अफवाह फैलिने खालका छन्। त्यसैले नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं। एसपी भट्टराईका अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा पक्राउ गरिएका प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। आफूले ठूलै आन्दोलन गरेर देश ठप्प पार्न लागेको र त्यसका लागि रासनपानी बन्दोबस्त गरेर राख्नू भन्ने जस्ता अभिव्यक्ति दिएर उनले समाजलाई भ्रमित पार्दै आएका थिए। सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको थियो। त्यसबाहेक राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने काम पनि उनले गर्दै आएका थिए। पुष्टि नभएका आधारहिन र भ्रमपूर्ण सूचना फैलाएर राज्यविरूद्ध भड्काउने अभिव्यक्ति पनि दिँदै आएका थिए। विगतमा माओवादी, एमाले लगायत दलहरूसँग निकट सम्बन्ध बनाएका र केही समयअघि राजावादी प्रचारप्रसारमा लागेका प्रसाईं भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेको यो चौथो पटक हो। उनी पटक पटक पक्राउ पर्दै धरौटीमा छुट्दै आएका छन्। यसअघि २०८१ चैत १५ को तीनकुने आन्दोलनपछि उनलाई भारतबाट पक्राउ गरी ल्याएको थियो। तीनकुने घटनाभन्दा अगाडि प्रसाईं पक्राउ परेको २०८१ मंसिर ४ गते हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। त्यति बेला उनलाई साइबर अपराध कसुरमा मुद्दा चलाइएको थियो। प्रसाईं पहिलो पटक पक्राउ परेको २०८१ असोज ६ गते हो। उनलाई भक्तपुरस्थित घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। यता दुई दिन अघिमात्रै निर्वाचन आयोगमा दल दर्ता गराएको नागरिक बचाउ पार्टी आजैबाट सडकमा उत्रिने भएको छ । प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा यो दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले भन्नुभएको छ , ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।’ यसबीच प्रहरीले भने काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो ।
