search logo
NOTIFICATIONS

एमालेको मन्थन,महाधिवेशनको मिति तोक्ने

हाम्रो पेज

२६ आश्विन २०८२, आईतवार १३:५२

भक्तपुर, २६ आश्विन । नेकपा एमालेको शुक्रबारदेखि शुरू सचिवालय बैठक आइतबार पनि गुण्डुमा जारी छ । शनिबार अध्यक्ष केपी ओली अस्वस्थ भएकाले स्थगित बैठक भर्खरै सुरू भएको हो । बैठक आज टुंग्याउने तयारी छ । आजको बैठकले महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्नका निम्ति केन्द्रीय कमिटीको बैठक बोलाइने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । १८ सदस्यीय सचिवालयमा शक्रबार ९ जनाले बोलेका थिए । आज बाँकी ९ जनाले कुरा राखेपछि केही जरुरी निर्णय गरेर बैठक टुंगिने उहाँले बताउनुभयो ।
शुक्रबारको बैठक शुरूवात गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाइ राख्नु भएको थियो । त्यसपछि वरीयताका आधारमा क्रमशः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसम्मले आ आफ्ना धारणा राख्नुभयो । जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक घटनाक्रममा एमालेमा उठिरहेको तीनखाले बहसको आजको बैठकले निरुपण गर्ने बताइएको छ । एमालेमा यतिखेर ओलीकै नेतृत्व कि हस्तान्तरण वा पुस्तान्तरण भन्ने तीनखाले बहस चर्किएको छ । त्यस्तै संसद पुनस्स्थापनाको एजेण्डा बोक्ने कि चुनावको तयारीमा लाग्ने भन्नेमा नेताहरूबीच मतऐक्यता छैन । यी सबै विषयको निरुपण आजको सचिवालयले गर्ने बताइएको छ । एमालेमा पुनः पूर्वउपाध्यक्षसमेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेर जानुपर्ने मत पनि बढेको छ । शुक्रबार बोल्ने अधिकांश सदस्यहरुले ओलीले विश्राम लिनु पर्ने सुझाएका छन् । सचिवालयका अधिकांश सदस्यहरु एमाले नेतृत्वबाट ओलीको बर्हिगमनको पक्षमा देखिएपछि ओली पक्ष रक्षात्मक बन्दै आज महाधिवेशनको मिति तोक्दै लचकताको बाटो अवलम्वन गर्ने पक्षमा रहेको बताइएको छ ।  एमाले सचिवालय बैठक शुक्रबार पनि बसेको थियो । भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा पार्टी पुनर्गठन, संसद् पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । के गर्ने भन्ने निष्कर्ष निस्किसकेको छैन । अब आज सचिवालय बैठकबाट पार्टी महाधिवेशनको मिति प्रस्ताव गरिने बताइएको छ । पार्टीको महाधिवेशन आउँदो मंसिर अन्तिममा वा पुसको सुरुमा गर्नेे गरी प्रस्ताव गरिने सम्भावना छ । महाधिवेशनको मिति केन्द्रीय कमिटीले तोक्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्मका निम्ति बोलाइएको छ ।