नवरात्रको छैठौं दिन, आज कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिंदै

हाम्रो पेज

१२ आश्विन २०८२, आईतवार ०७:३८
विराटनगर, १२ अशोज । नवरात्र अर्थात बडादशैंको छैठौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये आज कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन षष्टी तिथी अर्थात् दुर्गा पक्षको छैठौं दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवी भगवतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । काठमाडौंमा रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, नक्साल भगवतीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

उपत्यकाबाहिर बिराटनगरको काली मन्दिर र सन्सारी माइस्थान, धरानस्थित दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लागेको छ ।