हाम्रो पेज
काठमाडौं ५ आश्विन । नेपाल सरकारले आजको मन्त्रिपरिषद् बैठकबाट दुई महत्त्वपूर्ण निकायमा नयाँ नेतृत्व नियुक्त गरेको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीले पाउनु भएको छ। साथै, सरकारले जेनजी आन्दोलनको छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग पनि गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। सिलवाल प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन्, जसले यसअघि पनि प्राधिकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। उहाँको नियुक्तिलाई ऊर्जा क्षेत्रमा नयाँ गति दिने अपेक्षा गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान अघि बढाएर चर्चामा आएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी डा मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्रमुखको जिम्मेवारी दिइएको छ। केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायत उच्च पदस्थ अधिकारीहरूलाई समेत पक्राउ गरेको थियो। यो प्रकरणको अनुसन्धानमा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो। यसअघिका सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि सीआईबी कार्यवाहकको भरमा चलिरहेको थियो। केसीको नियुक्तिले सीआईबीको अनुसन्धान प्रक्रियामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ। यस्तै सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो। यस आयोगले आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि सुझाव दिनेछ।