देशभर भारी वर्षा र बाढीको जोखिमः सप्तकोशीमा खतराको सङ्केत, ४१ जिल्लामा उच्च सतर्कता

हाम्रो पेज

१९ श्रावण २०८२, सोमबार ११:४८
विराटनगर १९ श्रावण । लगातारको वर्षाका कारण देशका प्रमुख नदीहरूमा पानीको बहाव बढेको छ, जसले गर्दा बाढीको जोखिम उच्च भएको छ। विशेषगरी सप्तकोशी नदीमा पानीको बहाव खतराको तहमा पुगेपछि रातो बत्ती बालेर सर्वसाधारणलाई सचेत गराइएको छ। यसैबीच, बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित ४१ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। केही दिनदेखिको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। आज बिहान गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेण्ड एक लाख ७५ हजार ६८५ क्युसेक पानी बगिरहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। आइतबार साँझ यो बहाव एक लाख ९१ हजार २१० क्युसेक पुगेको थियो। नदीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले ब्यारेजमा रातो बत्ती बालिएको छ र ५६ मध्ये २३ वटा ढोका खोलिएको छ। स्मरणीय छ, २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा नै सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर ठूलो क्षति पुर्‍याएको थियो। बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र महाकाली नदीको बहाव सतर्कता तहको आसपासमा छ भने नारायणी, कमला, बागमती, राप्ती, बबई र कन्काई नदीमा पनि बहाव बढ्दो क्रममा छ। सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुमपश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली र कञ्चनपुर भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना छ। यस्तै इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, संखुवासभा, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवालगायतका जिल्लाहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशभर मनसुन सक्रिय भएको छ। शुक्रबारदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा सबैभन्दा बढी धनुषामा ७४।६ मिलिमिटर वर्षा मापन भएको छ। आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले मौसमी सूचनाको सही जानकारी लिएर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। एकातिर बाढीको जोखिम बढे पनि अर्कोतिर केही दिनदेखि सुख्खाग्रस्त रहेको मधेस प्रदेशमा नियमित वर्षाले किसानलाई राहत मिलेको छ। मनसुनको सुरुवातमा पानी नपर्दा रोपाइँ हुन नसकेर चिन्तित बनेका किसानहरू मध्यसाउनपछिको वर्षाले उत्साहित भएका छन्। पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा ८६ दशमलव २ मिमि, वीरगञ्जमा ६१ दशमलव ६ मिमि, गौरमा ७४दशमलव ८ मिमि र सिमरामा ४६दशमलव ६ मिमि वर्षा रेकर्ड भएको छ। यो वर्षाले मधेसमा रोपाइँलाई गति दिएको छ र कृषि उत्पादन बढ्ने आशा पलाएको छ।