search logo
NOTIFICATIONS

नारायणगढ मुग्लिन सडकखण्ड अझै खुलेन ,यात्रुहरुको बिचल्ली

हाम्रो पेज

५ आश्विन २०८२, आईतवार ११:४०

चितवन,५ आश्विन । साना ढुङ्गा खसेर जोखिम बढाइरहेको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला पुल नजिकै शुक्रबार साँझ साढे ६ बजे खसेको पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। लगातारको पहिरोका कारण सडक ३९ घण्टादेखि पूर्णरुपमा अवरुद्ध छ, जसले गर्दा हजारौं यात्रु र सवारीसाधन सडकमै अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय र सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाउने काम सुरु गरे पनि ७० मिटर अग्लो पहाडबाट निरन्तर खसिरहेको पहिरोले समस्या झन् बढाएको छ। पत्रे चट्टान र ठूला ढुङ्गा खसिरहेकाले लोडर र डोजर सञ्चालन गर्न समेत जोखिम भइरहेको इन्जिनियर अर्जुन घिमिरेले बताउनुभयो । मिनेट मिनेटमा ठूला ढुङ्गा खसिरहेको छ, जसले गर्दा हाम्रा अपरेटरहरु जोखिममा छन्, घिमिरेले भन्नुभयो, हामीले लगातार काम गर्नै पाएका छैनौँ। प्रशासनले एकतर्फी भए पनि सडक खुलाउने प्रयास गरे पनि निरन्तरको पहिरोले काम रोक्नुपर्ने अवस्था आएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि काठमाडौंबाट धनगढी हिँडेका ललित चन्दजस्ता हजारौं यात्रुहरु ३९ घण्टादेखि सडकमै अलपत्र परेका छन्। विरामी, बुढापाका, महिला र बालबालिकाहरु खाद्यान्न र पानीको समस्याले थप कष्ट भोगिरहेका छन्। कतिपय यात्रुहरु घण्टौं हिँडेर सुरक्षित स्थानतर्फ लागिरहेका छन्।पहिरोका कारण खाद्यान्नको समस्या भएपछि मुग्लिङका स्थानीयले पहल गरेर असोज ४ गते समस्यामा परेका यात्रु तथा मजदुरहरुलाई खानाको व्यवस्था गरेका थिए। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारसँग तत्काल सबै शक्ति प्रयोग गरेर पहिरो पन्छाउन माग गरेका छन्। उनले यातायात आवागमन सुचारु नभएसम्मका लागि विपद्मा परेका यात्रु र मजदुरहरुलाई खानेपानी, खाद्यान्न उपलब्ध गराउन र तत्काल उद्धार गर्न पनि आग्रह गरेका छन्।