search logo
NOTIFICATIONS

एनवाईईएफको आयोजनामा विराटनगरमा महिला उद्यमी सम्मेलन सम्पन्न

हाम्रो पेज

१४ भाद्र २०८२, शनिबार १६:१२
विराटनगर, १४ भदौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको आयोजनामा ‘महिला उद्यमी सम्मेलन’ सम्पन्न भएको छ ।
विराटनगरमा शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महानगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपमेयर कार्कीले उद्यमशीलताकालागि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिँदै बिउ पूँजी उपलब्ध गराउने बताउनुभयो । उहाँले आफु पनि एक उद्यमी भएकाले महिलाहरु उद्यमशीलतामा लाग्दा कुनै समस्या आए वा आफ्नो आवश्यकता परे जुनसुकै बेला आफूलाई भेट्न आग्रहसमेत गर्नुभयो ।
विशिष्ट अतिथि नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सुदीप घिमिरेले एनवाईईएफ विराटनगर च्याप्टरले गरिरहेको कामको प्रशंसा गर्दै उद्यमशीलतामा अग्रसर बनाउने अझ राम्रा काम गर्न सुझाव दिनुभयो । उहाँले युवाहरुलाई उद्यमशीलतामा आउन आह्वान पनि गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले आफु प्रहरी सेवामा रहेपनि सुरुवाती दिनमा उद्यमशीलतामा अग्रसर भएको अनुभव सुनाउनुभयो । उहाँले उद्यमशील बन्नकालागि पढाईले मात्र नहुने भन्दै व्यवहारिक ज्ञानसमेत लिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा महिला उद्यमीद्धय रक्तिम जोशी प्याकुरेल र अमिना तिम्सिना बस्नेतले उद्यमशीलताको यात्रामा आफुले भोगेका देखेका अनुभव सुनाएका थिए । यस्तै राधाको बर्न सर्भाइवर्सकी संस्थापक एवम् समाजसेवी राधालक्ष्मी श्रेष्ठले उद्यमशीलताकालागि कसरी अगाडि बढ्ने साथै सामाजिक क्षेत्रमा संलग्नताका विषयमा आफ्नो अनुभव प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा महिला उद्यमशीलताका क्षेत्रमा रहेर विभिन्न तह र तप्काका महिलाहरुसँग छलफल गरिएको थियो । छलफलमा श्री हरिकुल एजुकेसन फाउन्डेसनकी प्रबन्ध निर्देशक डा. ग्रीषा रावल, ठुलो डिजिटल सोलुसनकी प्रमुख संचालक सुरक्षा अधिकारी, नेपाल सरकारकी उपसचिव दुर्गा बराल र चार्टर्ड एकाउन्टेन्ट संघ नेपालकी महासचिव सीए संजिता नेपाल सहभागी भएका थिए । प्यानल छलफललाई एनवाईईएफ विराटनगरकी सदस्य सुनिता राउतले सहजीकरण गर्नुभएको थियो । छलफलमा उद्यमी बन्न चाहने महिला युवा एवम् विभिन्न कलेजबाट उल्लेख्य मात्रामा छात्राहरुको उपस्थिति रहेको एनवाईईएफ विराटनगर च्याप्टरका लर्निङ चेयर सागरराज ढुंगानाले जानकारी दिनुभयो । छलफलमा सफल उद्यमी बन्नकालागि आवश्यक विषयमा अनुभव आदानप्रदान भएको थियो ।
महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक एनवाईईएफ विराटनगर च्याप्टर अध्यक्ष सञ्जीव सिग्देलले बताउनुभयो । उहाँले युवाहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रहेर पनि धेरै कुरा गर्न सकिन्छ भन्ने सन्देश दिन यसखाले कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा एनवाईईएफ विराटनगरका पदाधिकारी एवम् पूर्वअध्यक्षहरु, बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न कलेजका छात्राहरु एवम् उद्यमशीलतामा इच्छा राख्ने महिलाहरुको उपस्थिति कार्यक्रम संयोजक अंकिता गिरीले जानकारी दिनुभयो ।