हाम्रो पेज
रौतहट ९ भाद्र । रौतहटको माधवनारायण नगरपालिकामा सुटकेसभित्र शव फेला परेकी रुबीकुमारी साहको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले शवलाई व्यवस्थापन गर्न प्रयोग गरिएको ई रिक्साका चालकलाई पक्राउ गरेसँगै घटनाको रहस्य खुल्दै गएको हो। शनिबार राति मुडबलवा गेटनजिक सडकमा बेवारिसे अवस्थामा भेटिएको सुटकेसभित्र २६ वर्षीया साहको शव फेला परेको थियो। अनुसन्धानका क्रममा हत्यापछि शवलाई अन्यत्र लगेर फाल्ने योजना बनाइएको तर रिक्सा बिग्रिएपछि अभियुक्तहरू सडकमै सुटकेस छाडेर फरार भएको खुलेको छ। प्रहरीले शव फाल्नका लागि भाडामा लिइएको ई रिक्साका चालक, गौर निवासी लक्ष्मण महरालाई नियन्त्रणमा लिएको छ। महराले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार, अभियुक्तहरूले गंगा पिप्रासम्म जानका लागि ५०० रुपैयाँमा उनको रिक्सा भाडामा लिएका थिए। उनले सुटकेसभित्र के थियो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्। बीच बाटोमै रिक्सा बिग्रिएपछि अभियुक्तहरूले उनलाई फर्काइदिएर सुटकेससहित फरार भएका थिए, तर पछि शवसहितको सुटकेस सडकमै छाडेको देखिन्छ।
रौतहट प्रहरीले हत्यामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको र निजको खोजी कार्य तीव्र पारिएको दाबी गरेको छ। अनुसन्धानमा संलग्न एक उच्च अधिकारीका अनुसार, अभियुक्त हालै वैदेशिक रोजगारीबाट फर्किएको र विदेशबाट ल्याएकै सुटकेस शव लुकाउन प्रयोग गरेको तथ्य फेला परेको छ। शनिबार साँझ रुबी आफ्नी आमालाई केही सामान लिन गौर जान्छु भनी घरबाट निस्किएकी थिइन्। प्रहरी अनुसन्धानका अनुसार, उनले घरबाट निस्कनुअघि ब्युटिपार्लर गएको र आफ्नो छोरालाई फोन गरेर जुस लिएर आउँछुु भनेको खुलेको छ। रातिसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। राति ९ बजेतिर उनको मोबाइल फोन स्वीच अफ भएको थियो। १३ वर्षअघि भारत, मुजफ्फरपुरका शिवसागर सुडीसँग विवाह गरेकी रुबी पछिल्लो केही महिनादेखि छोराको पढाइका लागि माइतीघर नजिकै आमासँग डेरा लिएर बस्दै आएकी थिइन्। घटनापछि उनका श्रीमान् पनि प्रहरीको सम्पर्कमा आएका छन्। यो घटनाले स्थानीय स्तरमा स्तब्धता छाएको छ भने प्रहरीले छिट्टै नै अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने विश्वास दिलाएको छ।