search logo
NOTIFICATIONS

शहीद परिवारलाई १५ लाख दिने सरकारको निर्णय, जेनजी आन्दोलनको दमनको छानविन गर्न आयोग

हाम्रो पेज

३० भाद्र २०८२, सोमबार १९:४७

काठमाडौ, ३० भाद्र । सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ । उहाँका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री अर्यालले जानकारी दिनुभयो  ।  जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् । मन्त्रीपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो ।

क्षतिपूर्ति वापतको उक्त रकम अर्थ मन्त्रालय मार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण गरिने उनको भनाइ छ । सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको छ । बैठकले सैद्धान्तिक निर्णय गरेको र यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको अर्यालले जानकारी दिनुभयो । ‘जुन जनधनको क्षति भयो । ज्यादती भयो । यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको हो ।’ उहाँले उक्त आयोगमा को को हुने भन्नेबारे टुंगो नलागेको बताउनुभयो । सकेसम्म पूर्वन्यायाधिश नै आयोगको संयोजक हुनेगरी अघि बढ्ने आशा उहाँले व्यक्त गर्नुभयो । यस्तै सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ । जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको हो । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु भएको थियो । त्यस्तै ज्यान गुमाएका जेन्जीहरूको स्मरणमा जेन्जी जागरण स्मारक पार्क बनाउने र त्यसका लागि ठाउँ खोजी गर्ने निर्णय भएको अर्यालले बताउनुभयो । अन्तरिम सरकार गठन भएपछि प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिमण्डल आज विस्तार गर्नुभएको थियो । मन्त्रिमण्डल विस्तार गरेसँगै सोमबार पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।