NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, ३२ अषाढ । स्वास्थ्य बीमा बोर्डको निर्णयले कोशी प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल संकटमा परेको छ। बीमा बोर्डले विराटनगरस्थित कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ सूचीबाट हटाएसँगै अस्पतालका चिकित्सक तथा कर्मचारी आन्दोलित भएका छन्। कोशी अस्पताल विकास समिति र कर्मचारी युनियनले सो निर्णय तत्काल फिर्ता लिन माग गर्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्। युनियनले बुधबार मेसु डा. रुणा झामार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णयले अस्पतालको सेवा प्रभावकारिता, बिरामीको पहुँच र जनसाधारणको अधिकारमाथि गम्भीर असर पारेको जनाएको छ। ज्ञापनपत्रमा उल्लेख अनुसार, कोशी अस्पतालमा दैनिक झण्डै ५०० बिरामी आउँछन्, जसमध्ये ७० प्रतिशतभन्दा बढी स्थानीय हुन्। बीमा बोर्डको असार १९ गतेको निर्णयअनुसार साउन १ गतेदेखि अस्पताललाई बीमा सेवाको प्रवेशद्वारबाट हटाइएको छ। जसले गर्दा अब बिरामीहरू अन्य वडाबाट रेफर लिएर मात्र कोशी अस्पतालमा सेवा लिन सक्ने छन्। ‘प्रथम सेवा विन्दु नरहेपछि न बिरामीको नाम दर्ता भइरहेको छ, न बीमा सेवा उपलब्ध भइरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले आकस्मिक सेवा, नियमित ओपीडी, शल्यक्रिया, भर्ना लगायत सम्पूर्ण सेवा प्रभावित भएको छ।’ युनियनले यस्तो निर्णयले मात्र बिरामी हैन, अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा कर्मचारी सबैलाई कार्य सम्पादनमा गम्भीर असहजता बनाएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले कर्मचारीलाई अनिवार्य बीमामा समावेश गरिसकेको अवस्थामा स्वयं अस्पतालका कर्मचारीहरू नै बीमा सुविधाबाट वञ्चित हुने अवस्था आएको युनियनको दाबी छ। कर्मचारी युनियनले सो निर्णयलाई निजीकरण प्रवृत्तिसँग जोड्दै केही निजी अस्पतालहरूलाई लाभ पुर्याउने नियोजित प्रयास भएको आशंका व्यक्त गरेको छ। अध्यक्ष डा. रोशन खड्काले भन्नुभयो, रेफरल प्रणालीमार्फत बीमित बिरामीलाई निजी अस्पतालमा डोर्याउने र सार्वजनिक स्वास्थ्य संस्थालाई पन्छ्याउने योजना हामीलाई स्वीकार्य छैन। यदि सरकारको निर्णय तत्काल सच्याइएन भने अस्पताल भित्र समस्या चर्कने र आन्दोलन अपरिहार्य हुने चेतावनी समेत युनियनले दिएको छ।
