search logo
NOTIFICATIONS

रविका लागि हस्ताक्षर गर्न पुगेका यौन दुर्व्यवहारका फरार दोषी विराटनगरबाट पक्राउ

हाम्रो पेज

२१ श्रावण २०८२, बुधबार १२:२८

विराटनगर, २१ श्राावण । बालयौन दुर्व्यवहारको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आयोजित हस्ताक्षर संकलन अभियानमा सहभागी हुन पुगेका बेला सुनसरी वराहक्षेत्रका ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो।

रास्वपाले विराटनगर महानगरपालिका–३ स्थित आफ्नो पार्टी कार्यालयमा सभापति लामिछानेको पक्षमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी हुन महेन्द्र चोक पुगेका कोईरालालाई फरार प्रतिवादीको रूपमा पहिचान गरी पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी सुमन तिम्सिनाले पुष्टि गर्नुभयो ।

कोइरालामाथि आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौन दुर्व्यवहार गरेको गम्भीर अभियोग थियो । उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले गत असार ३२ गते उनलाई बालबालिका सम्बन्धी कसुरअन्तर्गत बालयौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । अदालतले कोइरालालाई दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्तिबापत दुईलाख रुपैयाँ भराउने फैसला सुनाएको थियो। तर, फैसलापछि उनी पक्राउ नपरी फरार रहँदै आएका थिए।

अमेरिकाको टेक्ससमा बस्दै आएका कोइराला नेपाल आएका बेला गत वैशाखमा यो घटना बाहिरिएपछि पक्राउ परेका थिए, तर पछि धरौटीमा छुटे। स्रोतका अनुसार, नेपाली कांग्रेसका केही उच्च तहका नेताहरूसँग निकट सम्बन्ध भएका कारण उनले लामो समयदेखि कानुनी कारबाहीबाट उन्मुक्ति पाइरहेको आरोप लाग्दै आएको थियो । अदालतबाट दोषी ठहर भइसकेपछि पनि सार्वजनिक रूपमा हिँडडुल गरिरहेका कोइराला, अन्ततः एक फरक राजनीतिक दलको कार्यक्रममा सहभागी हुन पुग्दा प्रहरीको फन्दामा परेका हुन् ।