
विराटनगर ३१ अषाढ । पूर्वी नेपालको प्रतिष्ठित शैक्षिक धरोहर, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मंगलबार विद्यार्थी समूहबीचको झडप र हतियार बरामदगीको घटनाले तनावग्रस्त बनेको छ। शैक्षिक क्षेत्रलाई नै तरंगित पार्ने गरी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु का सभापति रोहित यादवको कार्यकक्षबाट प्रहरीले दुई थान खुकुरी बरामद गरेपछि क्याम्पसको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। मंगलबार बिहान बीसीए र एमपीए प्रथम सेमिस्टरको परीक्षा चलिरहेका थियो। अखिल क्रान्तिकारीनिकट विद्यार्थीहरू केनिस यादव, असलम साफी र गौतम मण्डल परीक्षा हलमा जबरजस्ती प्रवेश गर्न खोज्दा नेविसंघबाट निर्वाचित स्ववियु उपसभापति शुलभ बस्नेतको समूहले रोकेपछि विवाद चर्किएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवादले कुटाकुटको रूप लियो। सोही क्रममा केनिस यादव र असलम साफीले झोलाबाट खुकुरी निकालेर आतंक मच्चाउन खोजेका थिए। उनीहरूलाई रोक्ने प्रयासमा एक महिला विद्यार्थीको टाउकोमा खुकुरीको बिँडले लागेर सामान्य चोटसमेत लागेको थियो। विद्यार्थीबीचको झडप र हतियार प्रदर्शनको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय क बाट प्रहरी निरीक्षक अप्रिल चापागाईंको नेतृत्वमा प्रहरी टोली क्याम्पस पुगेको थियो। खानतलासीका क्रममा प्रहरीले स्ववियु सभापति रोहित यादवको कार्यकक्षमा रहेको स्टिलको दराजभित्र लुकाइएको अवस्थामा दुई थान खुकुरी फेला पारेको हो। प्रहरी निरीक्षक चापागाईंले भन्नुभयो, हामीले सभापतिको कार्यकक्षबाट दुई थान खुकुरी बरामद गरेका छौँ। यो हतियार कसरी र कसले त्यहाँ पुर्यायो भन्ने विषयमा गहिरो अनुसन्धान अगाडि बढाएका छौँ। यता घटनाबारे स्ववियु सभापति रोहित यादवले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै यो आफूलाई फसाउने षड्यन्त्र भएको दाबी गर्नुभएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, झडपपछि खुकुरी बोक्ने विद्यार्थीहरूले हतियार दराजमा लुकाएर फरार भएका थिए । हतियार कसले ल्यायो र दराजमा राख्यो भन्ने पहिचान खुलिसकेको छैन, उहाँले भन्नुभयो , उनीहरूको खोजी र घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। हालसम्म कुनै पनि पक्षले जाहेरी दिएको छैन। क्याम्पस प्रमुख डा. रामअवतार शरणले पनि क्याम्पसभित्र हतियार भित्रिनु अत्यन्तै दुःखद भएको बताउँदै घटनाको छानबिन भइरहेको जानकारी दिनुभएको छ ।