search logo
NOTIFICATIONS

कोशी प्रदेश सरकारका मन्त्रीको क्यूआर कोड प्रकरणः मन्त्री मण्डलको सचिवालयद्वारा खण्डन

हाम्रो पेज

२५ असार २०८२, बुधबार १२:३०

विराटनगर, २५ अषाढ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको सचिवालयले पछिल्ला केही दिनदेखि सञ्चारमाध्यममा आएको क्युआर कोड सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त समाचारलाई पूर्णतः एकपक्षीय, तथ्यहीन, भ्रामक र बदनियतपूर्ण रहेको बताएको हो।

विज्ञप्तिमा मन्त्री मण्डलको सचिवालयले समाचारमार्फत एक जिम्मेवार जनप्रतिनिधिको व्यक्तित्व, कार्यशैली र राजनीतिक मर्यादामाथि अनावश्यक प्रश्न उठाउने प्रयास भएको भन्दै त्यसलाई दुर्भाग्यपूर्ण र निन्दनीय भनेको छ। सचिवालयले क्युआर कोडमार्फत रकम संकलन वा माग गरिएको भन्ने दाबीलाई पूर्णतः गलत, कपोलकल्पित र बदनियतपूर्णू भएको स्पष्ट पारेको छ। मन्त्रीले सरकारद्वारा प्राप्त सुविधा र स्रोतसाधन बाहेक कुनैपनि प्रकारको अनाधिकृत लाभ वा सुविधा प्राप्त गर्न नखोजेको विज्ञप्तिमा उल्लेख छ। कुनैपनि कर्मचारी सरुवा सम्बन्धी प्रक्रिया पूर्णतः कानूनी, प्रशासनिक तथा सेवा सुविधा सम्बन्धी मापदण्डअनुसार नै अगाडि बढाइने हुँदा कुनै प्रकारको हस्तक्षेप वा अनियमितता गरिएको छैन, विज्ञप्तिमा भनिएको छ। सचिवालयले मन्त्री मण्डलको कार्यशैली सधैं पारदर्शी, सुशासनयुक्त र संवैधानिक मर्यादाभित्र रहेको दाबी गरेको छ। सचिवालयले प्रेस स्वतन्त्रता लोकतन्त्रको मूल आत्मा भएतापनि पत्रकारिताको आचारसंहिताको गम्भीर उल्लंघन भएको देखिएको टिप्पणी गरेको छ। समाचार प्रकाशन गर्नुअघि तथ्य संकलन, पुष्टि गर्ने आधार र सम्बन्धित पक्षको प्रतिक्रिया संलग्न गर्नु आवश्यक हुनेमा त्यसो नगरिएको भन्दै असन्तुष्टि जनाइएको छ। यस किसिमका समाचारहरूले सरकार, मन्त्रालय र सम्पूर्ण प्रशासनिक संरचनाको विश्वसनीयतामाथि आँच पुऱ्याउने जोखिम उत्पन्न गर्ने भएकोले हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई यस्ता तथ्यहीन र असन्तुलित सामग्री प्रकाशन नगर्न आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ।

सचिवालयले सम्मानित सदनमा उठाइएका यी विषयबारे आफूहरू गम्भीर रहेको र उपयुक्त समयमा माननीय मन्त्रीले सम्मानित सदन समक्ष आफ्नो धारणा राख्ने जानकारी गराएको छ। विज्ञप्ति मन्त्री सदानन्द मण्डलका तर्फबाट सचिवालयका कुन्दन मण्डलले जारी गर्नुभएको छ। क्युआर प्रकरणले कोशी प्रदेशको राजनीति र प्रशासनमा तरंग उत्पन्न गरेको छ। मन्त्री मण्डलको प्रदेशसभामा नै माओवादीको राजीनामा माग गरिसकेको छ । सोमबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद राजन किराँतीले मन्त्री मण्डलको सचिवालयमार्फत क्यूआर आतंक मच्चाएर रकम असुली भइरहेको र रकम नदिने कर्मचारीलाई सरुवाको धम्की दिइएको आरोप लगाउदै राजीनामा माग गर्नुभएको थियो । सांसद किराँतीले मन्त्रीको सचिवालयमा रहेका अमृत मेहता नामका व्यक्ति ‘अनाधिकृत सचिव’ भएको र उनकै नाममा रहेको क्यूआर कोडबाट रकम संकलन भइरहेको सार्वजनिक भएको समेत आरोप लगाउनु भएको थियो ।