हाम्रो पेज
विराटनगर, १७ अषाढ । कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लामा प्रहरीले लागुऔषध विरुद्धको कारबाहीलाई तीव्र पार्दै ठूलो सफलता हात पारेको छ। छुट्टाछुट्टै स्थानमा गरिएको विशेष कारबाहीमा प्रहरीले ठूलो परिमाणमा गाँजा र ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको हो।
यात्रुबाहक बसबाट ५५ किलोग्राम गाँजा बरामद हुनुले लागुऔषध ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग भइरहेको गम्भीर तथ्यसमेत खुलासा भएको छ। प्रहरीलाई सबैभन्दा ठूलो सफलता सुनसरीमा मिलेको छ, जहाँ यात्रुबाहक बसबाटै ५५ किलो गाँजा बरामद भयो। अस्थायी प्रहरी चौकी अमरहाट, धरानको टोलीले धरान १३ मा गरेको नियमित चेकजाँचका क्रममा बसमा सवार धनकुटा, सहिदभूमि गाउँपालिका २ का ५४ वर्षीय तेज बहादुर राईलाई उक्त परिमाणको गाँजासहित रंगेहात पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ I
यस्तै, सुनसरीकै देवानगञ्ज ३ मा इलाका प्रहरी कार्यालयले एक घरमा छापा मारी ६ किलोग्राम २८० मिलिग्राम गाँजासहित १८ वर्षीय राज कुमार यादवलाई पक्राउ गरेको छ। प्रहरीले सोही कारोबारमा संलग्न रहेको आरोपमा अर्का १८ वर्षीय राजु यादवलाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले झापा र मोरङबाट ब्राउन सुगरका कारोबारीहरूलाई पनि पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड ४ का ३२ वर्षीय धर्मा कुमार शर्मालाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले २ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै, बिर्तामोड ३ का २६ वर्षीय वीर बहादुर राजवंशी ५ सय ६० मिलिग्राम ब्राउन सुगरसहित प्रहरी चौकी बिर्ताबजारको फन्दामा परेका छन्। यता लागुऔषध नियन्त्रण ब्यूरो, विराटनगरको टोलीले विराटनगर १५ बाट मोरङको शनिश्चरे ८ का ३२ वर्षीय उजिर लिम्बुलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यी घटनाहरूले पूर्वी नेपालमा लागुऔषधको कारोबार र ओसारपसार गम्भीर चुनौतीको रूपमा रहेको देखाएको छ। विशेषगरी भारतसँगको खुला सिमाना र सार्वजनिक यातायातको दुरुपयोगले कारोबारीलाई सहज बनाएको देखिन्छ। पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।