हाम्रो पेज

आइतवार आयोजित कार्यक्रममा विश्वविद्यालयका संरक्षक, सभासद तथा स्थानीय पालिकाका प्रतिनिधिहरूको उपस्थितिमा स्व अधिकारीको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा रक्तदान, वृक्षारोपण तथा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो। पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. पोखरेलले विश्वविद्यालयको प्रगतिलाई लिएर फैलाइएका भ्रमपूर्ण हल्लाप्रति आपत्ति जनाउनुभयोे। मनमोहन विश्वविद्यालय बन्द हुन्छ भन्ने हल्ला गर्नेहरूले हेरेर राखून्, यो विश्वविद्यालय आगामी दश वर्षमै दक्षिण एसियामा चिनिन्छ, उहाँले भन्नुभयो ,जति बाधा हाले पनि हामी सीमित स्रोत र चुनौतीलाई पार गर्दै यो यात्रामा सफलता हासिल गरेरै छाड्छौं। उहाँले विश्वविद्यालयले मिसन २०३० नामक महत्वाकांक्षी रणनीतिक योजना तयार गरी कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार, सीमित बजेट र जनशक्तिका बावजुद विश्वविद्यालयले उत्पादनमुखी अनुसन्धानमा महत्त्वपूर्ण सफलता हासिल गरिसकेको छ।
फार्मेसी संकायका विद्यार्थीहरूले विभिन्न प्रकारका मल्हम, भिक्स र सन्चो जस्ता औषधि उत्पादन गरिसकेका छन् भने मधुमेह नियन्त्रणका लागि जडीबुटीमा आधारित औषधि उत्पादनको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। ‘सञ्चो’ सामान्य रुघाखोकी, ज्वरो र शरीर दुखाइमा उपयोगी मानिएको छ भने ‘भिक्स’ जडीबुटीयुक्त मरहमको रूपमा प्रयोग गरिनेछ। ‘झण्डु’ चाहिँ पाचन समस्या र शरीरको ऊर्जा वृद्धि गर्न मद्दत गर्ने गरी उत्पाद थालिएको छ। प्रारम्भिक उत्पादन सीमित मात्रामा भए पनि परीक्षण सफल भएसँगै व्यावसायिक स्तरमा उत्पादन विस्तार गरिने जानकारी दिइएको छ। सरकारले सहयोग गरेमा आगामी दुई महिना भित्र बजारमा लग्न सकिने पोखरेलले बताउनुभयो ।

विश्वविद्यालयमा एमालेकरण बढेको र अनियमितता भएको भन्ने आरोपको खण्डन गर्दै उपकुलपति पोखरेलले यहाँ मधेश, तराई र पहाडका सबै क्षेत्रका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको स्पष्ट पार्नुभयो । उहाँले आरोप लगाउनेहरूलाई चुनौती दिँदै भन्नुभयो, यदि कुनै बेथिती भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गराइयोस्। दोषी पाइएमा कानुनबमोजिम कारबाही भोग्न हामी तयार छौं। उक्त आरोप कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद केदार कार्कीले प्रदेश सभाबाट लगाउनु भएको थियो। उहाँले विश्वविद्यालयमा बेथिति बढेको भन्दै छानबिन समिति गठन गर्न र खारेजीको समेत माग गर्नुभएको थियो ।

उपकुलपति पोखरेलले यसै शैक्षिक सत्रदेखि बीएससी नर्सिङ, बीएनएमटी र साइकोलोजी काउन्सिलिङ जस्ता नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न प्रक्रिया अघि बढाएकोमा उहाँले कोशी प्रदेश सरकारलाई धन्यवाद पनि दिनुभयो । डिप्लोमा तह पोलिटेक्निक सञ्चालन गरेर विश्वविद्यालयको गुणस्तर घटाएको भन्ने आलोचनाबारे उहाँले भन्नुभयो,प्राविधिक विश्वविद्यालयको जग नै पोलिटेक्निक हो। विश्वका धेरै देशमा केजीदेखि पीएचडीसम्म एउटै विश्वविद्यालयले पढाउँछ। हल्लाका भरमा विश्वविद्यालय बन्द हुँदैन, केवल पात्रहरू फेरिन सक्छन्। प्रदेश सरकारद्वारा २०७६ सालमा स्थापित यो विश्वविद्यालयले २०७८ सालदेखि उच्च प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ। हाल यहाँ इन्जिनियरिङ, कानुन, स्वास्थ्य विज्ञान र व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयहरूको पढाइ हुँदै आएको छ।