search logo
NOTIFICATIONS

आज असार १५: धान दिवस र दही चिउरा खाने दिन

हाम्रो पेज

१५ असार २०८२, आईतवार ०८:२७
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार नजिकै रहेकाे खेतमा धान रोपाइँ गर्दै किसान । तस्वीर: रासस
विराटनगर, १५ अषाढ । आज असार १५ अर्थात् धान दिवस । आजका दिनलाई रोपाईं महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । नेपाल कृषिप्रधान देश भएकाले पनि यो दिनको विशेष महत्व रहँदै आएको छ ।

धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक बर्ष धान दिवस मनाईंदै आएको छ । आजको दिनमा खेतमा रोपाईं गरेर दही–चिउरा खाने हुनाले दिन दही–चिउरा खाने दिनका रुपमा समेत परिचित छ । असारमा कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।

सरकारले २०६१ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउने घोषणा गरेपछि यस दिनले थप ब्यापकता पाउँदै गएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपिन्छ । यसै अवसरमा आज विभिन्न स्थानमा रोपाइ कार्यक्रमको आयोजना गरिन्छ । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ । यसवर्ष असार मध्यसम्म पनि देशका धेरै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । नेपालमा कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ । हरेक बर्ष दिवस मनाइने गरेपनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरु बताउँछन् ।